Like us!
Follow us!
Connect us!
Watch us!

चीन-नेपालको संयुक्त वक्तव्यमा स्थान पाए यी योजनाले

अर्थ संसार

मंगलबार, ०९ असोज २०८०, १० : १७ मा प्रकाशित

चीन-नेपालको संयुक्त वक्तव्यमा स्थान पाए यी योजनाले

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा भएका सम्झौताहरु समेटिएको संयुक्त वक्तव्य जारी भएको छ ।

संयुक्त वक्तव्यमा चिनियाँ स्टेट काउन्सिलका प्रिमियर प्रधानमन्त्री लि छ्याङको निमन्त्रणामा चीन भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागिता जनाएको उल्लेख गरिएको छ । त्यसबाहेक वक्तव्यमा भ्रमणमा क्रममा नेपालका विभिन्न मन्त्रालयसँग भएको समझदारी र सम्झौताहरु पनि उल्लेख गरिएको छ ।

वक्तव्यमा दुई देशबीच कनेक्टिभीटीको सवालमा बन्दरगाह, सडक, रेल, वायुसेवा तथा ग्रीडलाई विकास गरी सुदृढीकरण गर्ने तथा ट्रान्स हिमालय बहुआयामिक कनेक्टिभिटी नेटवर्कको विकास गर्न सहकार्य गर्ने सहमति भएको जनाइएको छ । चीनले नेपाललाई छिटो भन्दा छिटो अति कम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुन सहायता गर्ने पनि उल्लेख गरिएको छ ।

लिजी - नेचुङ नाकाको उद्घाटन तथा झाङ्मु - खासा नाका सुचारु गर्ने निर्णय गरिएको पनि जनाइएको छ । यसैगरी परम्परागत नेपाल-चीन बोर्डरहरु खुलाउन पनि पहल हुने जनाइएको छ । चेन्ताङ-किमाथाङ्का र रिवु-ओलाङ्चुङगोला नाका खुलाउन दुई देशबीच संवाद थालिएको पनि उल्लेख गरिएको छ । 

यसैगरी अरनिको राजमार्गको चौथो चरणको मर्मतसम्भार, काठमाडौंको चक्रपथको दोस्रो चरणको विस्तार तथा स्याफ्रुबेसी-रसुवागढी राजमार्ग मर्मत सुरु गर्ने जनाइएको छ । टोखा-छहरे सुरुङ परियोजनाको सम्भाव्यता अध्ययनलाई तीव्रता दिने, चीन-नेपाल रेलमार्ग सहकार्य कार्यदलको आठौं बैठक आयोजना गरिने र चीनले नेपालमा रेल सञ्चालनका लागि व्यवसायिक प्रशिक्षण दिने पनि वक्तव्यमा उल्लेख गरिएको छ ।

पोखरा विमानस्थलको निर्माण सम्पन्न भई सञ्चालनमा आएकोमा सन्तुष्टि व्यक्त गर्दै अब आफ्ना वायुसेवा कम्पनीहरुलाई उडान विस्तार गर्न प्रोत्साहित गर्ने जनाइएको छ । यसैगरी केरुङ-रसुवागढी-चिलिमे २२० केभी अन्तरदेशीय विद्युत प्रसारण लाइन निर्माणको काम सीघ्र सुचारु गरिने तथा चीनको सिझाङ प्रान्तबाट नेपालका विकट उत्तरी भूभागमा विद्युतीकरण गर्न नेपालले गरेको अनुरोध पनि चिनियाँ पक्षले सकारात्मक ढङ्गले लिएको उल्लेख गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको