असोज २३ गते देखि सर्वसाधारणका लागि निष्काशन खुला गरिएको चिरख्वा हाइड्रो लिमिटेडको आइपिओमा आवेदन दिने समय समाप्त भएको छ । उक्त आइपिओमा १२ लाख भन्दा बढीले आवेदन दिएका छन् ।
सिडिएससीको पछिल्लो विवरण अनुसार आइपिओमा १२ लाख १२ हजार ६ सय ४५ जनाले एक करोड ३१ लाख ९९ हजार दुई सय ४० कित्ताका लागि आवेदन दिएका छन् जबकी कम्पनीले ८ लाख ५९ हजार ३ सय कित्ताका लागि मात्र आवेदन माग गरेको थियो । कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएको थियो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुन आउने ८० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ८० हजार कित्ता, कर्मचारीलाई २ प्रतिशतले हुन आउने १६ हजार कित्ता र सामूहिक लगानी कोषलाई ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता कम्पनीले बाँडफाँट गरिसकेको छ ।
यसैगरि स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात चार लाख कित्ता छुट्ट्याइएकोमा दुई लाख चार हजार सात सय कित्ताका लागि मात्रै आवेदन परेपछि त्यसमध्येको एक लाख ९५ हजार तीन सय कित्ता थपेर सर्वसाधारणलाई आइपिओ निष्कासन गरिएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस