सोमबार मङ्सिर ४ गते देखि हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशन खुला गर्दैछ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका आईपीओ निष्काशन खुला गर्न लागेको हो ।
उक्त कम्पनीलाई नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडले ‘इक्रा एनपी इस्स्युअर रेटिङ ए’ प्रमाणपत्र प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा यथेष्ट रहेको संकेत गर्दछ । देश भित्रका बीमा कम्पनीहरुलाई पुनर्बीमाका अधिकांश आवश्यकताहरु देशभित्र नै पूरा गर्ने उद्देश्यका साथ कम्पनीले विभिन्न सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
कम्पनीले प्रति शेयर एक सय रुपैयाँ अङ्कित दरमा प्रिमियम एक सय ६ रुपैयाँ प्रिमियम थप गरी जम्मा दुई सय ६ रुपैयाँ अंकित दरका तीन करोड कित्ता साधारण निष्कासन गर्न लागेको हो । यसमध्ये १० प्रतिशतले हुन आउने ३० लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, दुई प्रतिशतले हुन आउने ६ लाख कित्ता शेयर निष्काशनकर्ता कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि र पाँच प्रतिशतले हुन आउने १५ लाख कित्ता शेयर सामूहिक लगानी कोष योजनाहरुका लागि छुट्ट्याइएको छ । प्राथमिक निष्कासन अघि सात अर्ब रहेको कम्पनीको चुक्ता पुँजी निष्कासनपछि १० अर्ब पुग्नेछ जसको ३० प्रतिशत सर्वसाधारण सेयरधनी र बाकिँ ७० प्रतिशत संस्थापक सेयरधनी रहनेछन् ।
कम्पनीले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ (संशोधन समेत) मा भएको व्यवस्था बमोजिम प्रिमियम मूल्याङ्कन गरी पेश गरेको मूल्याङ्कनको विधि तथा औचित्यको अध्ययन गर्दा औसत मूल्य रु.२९१.४० आएको र पछिल्लो लेखा परीक्षण भएको वित्तीय विवरण अनुसार नेटवर्थको दुई गुणा हिसाब गर्दा रु.२०६.१४ हुन आएकोमा उपरोक्त दुवै मूल्य मध्ये नेटवर्थको २ गुणाले हुन आउने मूल्य कम भएकाले उक्त मूल्यलाई पूर्ण अंकको मूल्यमा २०६ रुपैयाँ कायम गर्ने गरी प्रिमियम सहितको निष्काशन मूल्य निर्धारण गरिएको जनाएको छ ।
कम्पनीले एनआईएमबी एस क्यापिटल, प्रभु क्यापिटल, नबिल इन्भेष्टिङ बैंकिङ र नबिल सेक्युरिटिजसँग निष्कासन गर्न लागेको शतप्रतिशत सेयर प्रत्याभूति सेवा लिएको छ । अर्थात निष्कासित सेयर बिक्री नभएमा उल्लेखित कम्पनीले प्रत्याभूति गरेको शेयर ग्रहण गर्नुपर्नेछ । कम्पनीको २०७८/७९ को वित्तीय विवरण अनुसार वास्तविक नेटवर्थ १०३.०७ रुपैयाँ रहेको छ । यस हिसाबले उक्त कम्पनीको दोस्रो बजारमा ओपनिङ रेञ्ज १०३.०७ देखि ३०९.२१ रुपैयाँसम्म हुनेछ ।
कम्पनीको नेटवर्थ २०७९/८० मा १०३.०७ रहेको छ भने प्रक्षेपित नेटवर्थ २०८०/८१ मा ११०.९२ र २०८१/८२ मा १४९.७१ रहेको छ । कम्पनीको २०७९/८०को प्रतिसेयर आम्दानी ४.१७ रुपैयाँ रहेको छ भने प्रक्षेपित प्रतिसेयर आम्दानी २०८०/८१ मा १०.२६ र २०८१/८२ मा १५.५२ रुपैयाँ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस