Like us!
Follow us!
Connect us!
Watch us!

पोखराको लेकसाइडमा शुरु भयो सडक महोत्सव

अर्थ संसार

शुक्रबार, १३ पुस २०८०, १० : ०१ मा प्रकाशित

पोखराको लेकसाइडमा शुरु भयो सडक महोत्सव

पोखराको लेकसाइड क्षेत्रमा २५ औँ संस्करणको सडक महोत्सव सुरु भएको छ । रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) पोखराद्वारा आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए ।

महोत्सव उद्धघाटन गर्दै प्रमुख आचार्यले सडक महोत्सव पोखराको पहिचान बनेको बताए । “लेकसाइडको तीन किलोमिटर क्षेत्रमा हुने महोत्सव पोखराको पहिचान बनेको छ, सबै सिजनका लागि पोखरा उपयुक्त छ भन्ने सन्देश दिन यो महोत्सव सफल भएको छ, प्रमुख आचार्यले भने, अन्तर्राष्ट्रिय सहरको रूपमा स्थापित पोखराको प्रवद्र्धनका खातिर सडक महोत्सव एक महत्वपूर्ण अवसर बन्ने गरेको छ ।” 

पछिल्लो समय पोखरामा पर्यटन गतिविधिहरूमा वृद्धि भएको उल्लेख गर्दै प्रमुख आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल वरदान साबित भएको बताए । विगतका वर्षहरूको तुलनामा हवाई सेवा मार्फत पोखरा र यस आसपासको क्षेत्रमा आउने पर्यटकहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको उनले बताए । विमानस्थलले क्षमताभन्दा धेरै यात्रुहरूलाई सेवा दिइरहेको उनले बताए । अब छिट्टै पोखराबाट उपयुक्त गन्तव्यहरूमा सिधा उडान हुने विश्वास समेत व्यक्त गरे ।

पोखरेली पर्यटनको प्रमुख आधारका रूपमा रहेको प्याराग्लाइडिङको नियमित उडानमा देखिएको समस्या प्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको उनले उल्लेख गरे । “जहाँसम्म प्याराग्लाइडिङको जुन समस्या छ, यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, प्रमुख आचार्यले भने, पछिल्लो समय स्थानीय सरकार, नागरिक उड्यन प्राधिकरण वा प्रशासनको कारणले प्याराग्लाइडिङ सञ्चालनमा बाधा पुगेको होइन, यसमा व्यवसायीहरू बिचको टकराबले विभिन्न अड्चनहरू देखिएका छन् ।”

प्रमुख आचार्यले मञ्चबाटै व्यवसायीहरूलाई सडक महोत्सवलाई कमाउने मौकाको रूपमा नलिन अपिल समेत गरे । विगतमा यस प्रकारका गुनासाहरू थुप्रै आएको स्मरण गर्दै उनले यसपालि त्यस प्रकारको कमजोरी नगर्न अपिल गरेका हुन् । “विगतमा यस्ता गुनासाहरू थुप्रै आएका छन्, यस पटक यो कमजोरी कहिकसैबाट नहोस्, प्रमुख आचार्यले भने, स्थानीय प्रशासनले अनुगमनका क्रममा कुनै कैफियत फेला पारे कोही उम्कन पाउने छैन ।” कमाउने नभई प्रवद्र्धन गर्ने अवसरका रूपमा यसको उपयोग गर्न उनले अनुरोध गरे ।

रजत वर्षको उपलक्ष्यमा पोखरालाई चिनाउन महल्वपूर्ण योगदान गर्ने दिग्गज व्यक्तित्वलाई सम्मान गरिएको छ, भने संस्थाद्धारा प्रकाशित रजत स्मारिका समेत विमोचन गरिएको छ । महोत्सवको पुर्वसन्ध्यामा लेकसाइडको खहरेचोकदेखि कोमागाने पार्कसम्म सांस्कृतिक झाँकीसहितको र्याली गरिएको छ । महोत्सव अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन जनवरी १ अर्थात् पुस १६ गतेसम्म चल्नेछ । महोत्सव पाँच लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको