Like us!
Follow us!
Connect us!
Watch us!

व्यापार घाटाको डरलाग्दो ग्राफ, भारतसँग मात्रै ६ खर्ब नाघ्यो

अर्थ संसार

सोमबार, १० बैशाख २०८१, १० : ३३ मा प्रकाशित

व्यापार घाटाको डरलाग्दो ग्राफ, भारतसँग मात्रै ६ खर्ब नाघ्यो

चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म भएको व्यापार घाटा चुलिएको छ ।  तथ्यांकअनुसार नेपालले १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख व्यापार घाटा ब्यहोरेको छ। यो तथ्यांक चालु आर्थिक ९ महिनाको अवधिमा भएको व्यापार घाटाको हो। 

गत आवको सोही अवधिमा नेपालले १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो।  सो अवधिमा नेपालले १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ। गत आवको सोही अवधिमा नेपालले १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो। जसमा गत आवको तुलनामा २.९२ प्रतिशतले कम वैदेशिक व्यापार गरेको छ।

त्यस्तै, उक्त अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको भन्सार विभागले जनाएको छ। गत आवको तुलनामा यो वर्ष २.८४ प्रतिशतले कम आयात गरेको छ। गत आवमा नेपालले १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो।

नेपालले आयात व्यापारका लागि भारतको विकल्प खोज्नै सकेको छैन। पछिल्ला वर्षहरू चिनियाँ आयात बढिरहेको भए पनि भारतको तुलनामा भने निकै पछाडि रहेको छ। नेपालको अन्तर्राष्ट्रिय व्यापारको सबैभन्दा बढी हिस्सा ओगट्ने भारतसँग मात्र यो अवधिमा ६ खर्ब ५१ अर्ब ८० करोड व्यापार घाटा बेहोरेको छ। भारतबाट सात खर्ब २९ अर्ब ६५ करोड ८५ लाख बराबरको वस्तु आयात हुँदा ७७ अर्ब ८५ करोड ५२ लाख बराबरको निर्यात भएको छ।

अर्को छिमेकी मुलुक चीनसँग दुई खर्ब १६ अर्ब ७६ करोड ९५ लाख बराबरको आयात गर्दा दुई अर्ब ११ करोड ४४ लाख बराबरको मात्रै निर्यात भएको छ।

चीनसँगको व्यापार घाटा दुई खर्ब १४ अर्ब ६५ करोड बराबर छ। नेपालले गर्ने वैदेशिक व्यापारमा बढी घाटा देखिएको मुलुकमा संयुक्त अरब इमिरेट्स (युएई) तेस्रो स्थानमा छ। युएईबाट २० अर्ब ४८ करोड सात लाख बराबरको आयात हुँदा एक अर्ब ९५ करोड ७९ लाख बराबरको मात्रै निर्यात भएको छ। युएईसँगको व्यापार घाटा १८ अर्ब ५२ करोड २७ लाख बराबर छ।

त्यसैगरी, नेपालले बढी व्यापार घाटा व्यहोरेका मुलुकमा युक्रेन चौथो, मलेसिया पाँचौँ र अस्ट्रेलिया छैटौँ स्थानमा छन्। यी मुलुकसँगको व्यापार घाटा क्रमशः १४ अर्ब ९० करोड, १४ अर्ब १६ करोड र नौ अर्ब पाँच करोड रहेको छ। नेपालले ३२ वटा मुलुकसँगको वैदेशिक व्यापारमा नाफा कमाएको छ। सबैभन्दा धेरै व्यापार नाफा डेनमार्कसँग देखिएको छ। डेनमार्कमा नेपालले २८ करोड ७७ लाख ७१ हजार बराबरको आयात र ६७ करोड ८३ लाख ७५ हजार बराबरको निर्यात गर्दा ३९ करोड छ लाख तीन हजार बराबर व्यापार नाफा कमाएको छ।

त्यस्तै, अफगानिस्तानसँग १८ करोड नौ लाख, नर्वेसँग १० करोड ८४ लाख र सुडानसँग तीन करोड ४३ लाख व्यापार नाफा देखिएको छ। 

नेपालले ब्यहोर्नुपरेको व्यापार घाटाका कारण समग्र अर्थतन्त्रले गम्भीर असर थेगिरहनु परेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको