Like us!
Follow us!
Connect us!
Watch us!

जनतालाई नै मालिक बनाउन आइएमईलाई चाँडै पब्लिकमा लैजान्छौें: चन्द्र ढकाल

अर्थ संसार

बुधबार, ३० साउन २०८१, १३ : ०३ मा प्रकाशित

जनतालाई नै मालिक बनाउन आइएमईलाई चाँडै पब्लिकमा लैजान्छौें: चन्द्र ढकाल

आइएमई र जिएमई रेमिट गाभिएर आजदेखि आइएमई लिमिटेडका रुपमा एकीकृत कारोबार सुरु भएको छ ।आयोजित एक औपचारिक कार्यक्रमकाबीच दुईवटा कम्पनी गाभिई संयुक्त कारोबार सुरु भएको जानकारी दिइएको हो ।

यी दुवै कम्पनीको गत जेठमा भएको साधारणसभाले एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धि प्रस्ताव पारित गरेका थिए । सोही प्रस्तावअनुसार साउन ३० गते एकीकृत कारोबार हुने भएको हो । आईएमईको ९० करोड र जीएमईको २५ करोड रुपैयाँ गरेर मर्जपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ हुने छ । मर्जपछि कम्पनीको कारोबार मासिक ३० अर्बभन्दा बढी हुने अनुमान छ । 

मर्जपछि कम्पनीले १० प्रतिशत सेयर सार्वसाधारणका लागि निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको छ । आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा पनि गइसकेको छ । सेबोनले अनुमति दिने वित्तिकै कम्पनीले आईपीओ ल्याउने बताएको छ ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कम्पनी गाभिएपछि आगामी दिनमा सेवा थप सहज तथा सुरक्षित बन्दै जाने र चाँडै सार्वजनिक निष्कासनमा जाने बताए । ‘हामीले आइएमईलाई चाँडै नै नागरिकमाझ लैजाँदैछौँ । जनतालाई नै मालिक बनाउने हाम्रो यो अर्को पहल हो,’ उनले भने, ‘राज्यको प्राथमिकतामा रहेको, आमजनतालाई सेवा दिन सकिने र आर्थिक रुपले सम्भाव्य क्षेत्रमा लगानी गर्नु व्यवसाय गर्ने मुख्य तीन सूत्र हुन् ।’

दुई कम्पनीको एकीकृत कारोबार सुरु भएसँगै अध्यक्ष ढकालले आइएमई लिमिटेडको सञ्चालक समितिको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । आइएमई सुरुआतको समय करिब २० प्रतिशत मात्र औैपचारिक रहेको ‘रेमिट्यान्स’ अहिले करिब ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क रहेको ढकालले बताए । नेपालमा आउने रेमिट्यान्सको करिब ५० प्रतिशत बजार हिस्सा बैङ्क तथा वित्तीय संस्थाको रहेको पनि उहाँले बताए । सरकार तथा नियामक नेपाल राष्ट्र बैङ्कले ल्याउने नीतिनियमको कार्यान्वयनमा आइएमई ग्रुप अग्रस्थानमा रहेको अध्यक्ष ढकालको दाबी छ ।

आइएमई देशकै सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनी हो भने  जीएमई जापान र कोरियाबाट सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनी हो । यस कम्पनीको अध्यक्ष हाल चन्द्रप्रसाद ढकाल छन् । एकीकृत कारोबार पछि भने सो कम्पनीको अध्यक्ष हेमराज ढकाल बन्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको