Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले दिएकाे जिम्मेवारी पूरा गर्दा म विरुद्ध षड्यन्त्र गरियाे:कुलमान घिसिङ

अर्थ संसार

बुधबार, ३० साउन २०८१, १८ : ०२ मा प्रकाशित

सरकारले दिएकाे जिम्मेवारी पूरा गर्दा म विरुद्ध षड्यन्त्र गरियाे:कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् महसुल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएका केही व्यक्ति तथा संस्था आफूलाई कमजोर बनाउन र मनोबल गिराउन लागेकाे आराेप लगाएका छन् ।

नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डिआइजी) तथा रास्वपाका पूर्वनेता रमेश खरेलले उनीविरुद्ध भ्रष्टाचारकाे उजुरी दिएपछि घिसिङले यस्ताे आराेप लगाएका हुन् । उनले रमेश खरेल सुनियोजित रूपमा आफूविरुद्ध लागिरहेको समेत बताएका छन् । खरेलले सार्वजनिक गरेको विवरण र सञ्चार माध्यमबाट प्रशासित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको कुलमानले जनाएका छन् ।

उनले नेपालको संविधान तथा प्रचलित कानुनको परिधिभित्र रहेर निष्ठासाथ दिनरात नभनी आफ्नो व्यक्तिगत जीवनलाई समेत पर्वाह नगरी अहोरात्र खटेर सरकारले दिएको जिम्मेवारी निष्ठापूर्वक प्रतिबद्धताकासाथ पूरा गरिरहेको जिकिर गरेका छन् ।

 यस्तो छ  कुलमानले जारी गरेको विज्ञप्ती

नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक (डि.आइ.जी) रमेश खरेलले एन्टी करप्सन नेटवर्ककातर्फबाट मिति २०८१ साउन २९ गते मङ्गलवारका दिन सामाजिक सञ्जालमार्फत मेरा बिरुद्ध सुनियोजित रुपमा दूषित मनसायकासाथ सार्वजनिक गरेको विवरण र सोही आधारमा विभिन्न सञ्चार माध्यमबाट सम्प्रेषण गरिएका समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

निज खरेलबाट मेरा बिरुद्ध कुनै एक टेलिभिजनमार्फत निहीत स्वार्थका साथ गलत तथा भ्रामक सूचनाको प्रयोगमार्फत कार्यक्रम उत्पादन गरी पटक पटक सम्प्रेषण भइरहेको थियो । पत्रकारिताका सर्वमान्य सिद्धान्त, मूल्यमान्यता र आचारसंहितको ठाडो उल्लङ्घन तथा सञ्चारमाध्यमै दुरुपयोग गर्दै निज खरेलबाट मेरो र मेरो परिवारका सदस्यहरु (मुख्य रुपमा दाइ र भाइ) को चरित्रहत्या, मानप्रतिष्ठा र छविमा आघात पुर्याउने उद्देश्यले कसैको उक्साहटमा मेरा बिरुद्धमा प्रचार भइरहेको थियो र छ ।

स्वच्छ र यथार्थ समाचार वा टिप्पणी शिष्ट र मर्यादित भाषामा प्रकाशित गर्नु सञ्चार क्षेत्रको दायित्व रहेता पनि निज खरेलबाट मेरा विरुद्धमा आफैं न्यायिक निकायजस्तो बनी दोषी करार गर्नु निन्दनीय छ । सार्वजनिक पदधारण गरेका हरेक व्यक्तिका कामकारबाही सार्वजनिक चासोका विषयहरु हुन्छन् र त्यस्ता व्यक्तिहरुलाई जनताप्रति उत्तरदायी र जवाफदेही बनाउन उनीहरु जहिले पनि निगरानीमा हुन्छन् । आमजनताले सम्बन्धित निकायमा उजुरी गर्न पाउने हक सम्बन्धमा म अनविज्ञ छैन ।

उजुरी दर्ता गर्नासाथ त्यसलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुले निज खरेलबाट उक्त उजुरी सार्वजनिक खपत र आपूm चर्चामा आउनलाईमात्र गरेको मेरो ठम्याइ छ । निष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई हतोत्साहित बनाउन सुनियोजित रुपमा निज खरेलबाट निहीत स्वार्थकासाथ यस्ता कामहरु भइरहेका थिए र छन् ।

अंशवण्डा गरी लामो समयदेखि मबाट छुट्टै बसिरहेका मेरा दाइ र भाइले नेपालको संविधान र ऐन कानुनले दिएको हकअधिकार प्रयोग गरी स्वतन्त्र रुपमा राज्यलाई तिर्नुपर्ने कर तिरी आफ्नो व्यापार व्यवसाय ईमान्दारी पूर्वक सञ्चालन गरिरहेका छन् । मैले आफ्नो पदीय दुरुपयोग गरी मेरा दाइ र भाइले सञ्चालन गरिरहेको व्यापार व्यवसायलाई फाइदा पुग्ने कुनै पनि कार्य नगरेको प्रष्ट पार्न चाहान्छु । यदि मैलै त्यस्तो गरेको पाइएमा राज्यका निकायहरुले छानबिन गर्ने नै छन् ।

नेपालको संविधान तथा प्रचलित कानूनको परिधिभित्र रहेर निष्ठासाथ दिनरात एवम् आफ्नो व्यक्तिगत जीवनलाईसमेत प्रवाह नगरी अहोरात्र खटी नेपाल सरकारले दिइएको जिम्मेवारी निष्ठापूर्वक प्रतिबद्धताकासाथ पूरा गरिरहेको छु । नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमान्दारीपूर्वक जवाफदेही बनी आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई बद्नाम गराउने दुराशयकासाथ लगाइएका आरोपहरुको खण्डन गर्दछु । यस्ता आरोपको भ्रममा नर्पन सबैलाई अनुरोध गर्दछु ।

प्राधिकरणले हासिल गरेका प्रगति एवम् उपलब्धीबाट अत्तालिएको केही स्वार्थ समूह (जो पहिलेबाटै सक्रिय थियो) र विद्युत महसुल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएका केही व्यक्ति तथा संस्था अहिले मलाई कमजोर बनाउन र मनोबल गिराउन मेरा विरुद्धमा सुनियोजित रुपमा लागिरहेका छन् । प्रचलित सार्वजनिक खरिद कानून बमोजिम गरिएका खरिद सम्झौताहरु, विद्युत खरिद बिक्री सम्झौता (पिपिए) र अन्य कतिपय असान्दर्भिक विषयहरुलाई उचाल्नुले पनि यही कुरालाई पुष्टि गर्दछ ।

नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत आपूर्ति गर्ने, संस्थालाई वित्तीय रुपमा सबल एवम् सक्षम बनाउने, विद्युत, उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाहरुको विकास तथा विस्तार गरी ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउँदै छिमेकी देशहरुसँगको विद्युत व्यापार विस्तार गर्नेबाहेक अन्य मेरा कुनै व्यक्तिगत र नाजायज स्वार्थ नरहेको प्रष्ट पार्दछु ।

नेपाल विद्युत प्राधिकरणका हरेक कामकारबाहीहरु पारदर्शी रुपमा भइरहेका छन् । र, अझै पारदर्शी रुपमा अगाडि बढाइने छ । ऊर्जा क्षेत्रका योजनाहरु कार्यान्वयन गर्ने निकायको कार्यकारी प्रमुखको रुपमा आफ्नो भूमिका अझै निष्ठापूर्वक, इमान्दार भएर पूरा गर्ने यसै विज्ञप्तिमार्फत प्रतिबद्धता जनाउँदछु ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको