Like us!
Follow us!
Connect us!
Watch us!

आय विवरण दाखिला गर्ने म्याद थप गर्न चेम्बरको माग

अर्थ संसार

शुक्रबार, ११ असोज २०८१, ०९ : ०९ मा प्रकाशित

आय विवरण दाखिला गर्ने म्याद थप गर्न चेम्बरको माग

वार्षिक १ करोड रुपैयाँसम्म कारोबार गर्ने एकलौटी फर्म र शून्य कारोबार भएका निकायहरूको सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने आन्तरिक राजश्व विभागको निर्णयप्रति ध्यानाकर्षण भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ।

यस्तै वार्षिक २५ करोड रुपैयाँ सम्म कारोबार भएका निकाय र अन्य करदाताहरूको मङ्सिर मसान्तसम्म मात्र म्याद थप हुने व्यवस्था एवं वार्षिक २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने करदाताहरूको सम्बन्धमा पौष २० गते सम्म मात्र म्याद थप हुने व्यवस्था प्रति चेम्बरले विमति जनाएको हो।

मुलुकको अर्थतन्त्र शिथिल अवस्थामा रहेको एवं निजी क्षेत्रको मनोबल खस्किरहेको वर्तमान अवस्थामा विद्यमान कानूनी व्यवस्था विपरीत भएको विभागको पछिल्लो निर्णयले व्यावसायिक क्षेत्रमा गम्भीर असर गर्ने चेम्बरले उल्लेख गरेको छ। आन्तरिक राजश्व विभागको निर्णय सच्याउन समेत चेम्बरले आग्रह गरेको छ।

चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आयकर ऐन २०५८ को दफा ९८(१)मा आय विवरण दाखिला गर्ने म्याद थप गर्ने सम्बन्धमा “दफा ९६ बमोजिम आय विवरण दाखिला गर्नुपर्ने कुनै व्यक्तिले त्यस्तो विवरण दाखिला गर्ने म्याद भित्र विभाग समक्ष थप म्यादको लागि लिखित निवेदन दिएमा मनासिव माफिकको कारण भएमा विभागले आय विवरण दाखिला गर्नुपर्ने म्याद थप गरिदिन सक्नेछ।

यसरी म्याद थप का लागि दिएको निवेदन सम्बन्धमा विभागले गरेको निर्णयको जानकारी निवेदकलाई लिखित रूपमा दिनु पर्नेछ  भन्ने कुरा उल्लेखित हुंदाहुंदै विभागले सूचना जारी गरी विगतमा दिएको म्याद थपको सुविधाहरू कटौती गरेकोमा उद्योगी व्यवसायीहरू मर्कामा पर्ने ब्यहोरा अनुरोध छ।’

शिथिल रहेको अर्थतन्त्रलाई पुनः जागरण गराई राजश्वका श्रोतहरू बढाउनु पर्नेमा विभागको पछिल्लो निर्णय आन्तरिक राजश्व नीतिको प्रतिकुल रहेको चेम्बरेको ठहर छ।

सानो र ठूला कारोबारीहरुबीच हिसाब मिलान गर्नुपर्ने अवस्था समेत रहेको परिप्रेक्ष्यमा विभागको सफ्टवेयर क्षमता अभिवृद्धि गर्नु पर्ने र विगतमा झैँ आय विवरण दाखिलाको समय साबिक बमोजिम गर्ने व्यवस्थाको लागि पनि नेपाल चेम्बर अफ कमर्सले आन्तरिक राजश्व विभागको ध्यानाकर्षण गराएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको