Like us!
Follow us!
Connect us!
Watch us!

विकास साझेदारसँगको बैठकमा अर्थमन्त्रीले भने- सरकार नेपालको आर्थिक विकासमा केन्द्रित छ

अर्थ संसार

सोमबार, १७ मंसिर २०८१, १६ : २९ मा प्रकाशित

विकास साझेदारसँगको बैठकमा अर्थमन्त्रीले भने- सरकार नेपालको आर्थिक विकासमा केन्द्रित  छ

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार नेपालको आर्थिक विकासमा केन्द्रित भएको बताएका छन् ।

अर्थ मन्त्रालयमा सोमबार आयोजित विकास साझेदारहरूसँगको बैठकमा अर्थमन्त्री पौडेलले दुई ठूला राजनीतिक दल मिलेर सरकार बनेपछि मुलुकमा राजनीतिक र नीतिगत स्थायित्व कायम हुँदै गएकाले अब सरकारको ध्यान आर्थिक विकासमा केन्द्रित भएको बताएका हुन् ।

अर्थमन्त्री पौडेलले विकास साझेदारहरूको निरन्तर सहयोग र साझेदारीमा आर्थिक विकासलाई अघि बढाउने जानकारी गराए ।

क्रेडिट रेटिङको नतिजाले लगानीका लागि नेपाल अनुकूल अवस्थामा रहेको देखाएको उल्लेख गर्दै अर्थमन्त्रीले यसले निजी क्षेत्र र लगानीकर्ताको मनोबल बढाउनुका साथै बाह्य लगानी वृद्धि हुने विश्वास व्यक्त गरे ।

सार्वजनिक ऋणको भारबाट तत्काल अत्तालिनु पर्ने अवस्था नरहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले लामो समयसम्म दिगो बनाईराख्न ऋण परिचालनलाई पुन: प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता महसुस गरेको बताए । नयाँ विकास सहायता परिचालन नीतिको मस्यौदा र सार्वजनिक क्षेत्रमा नवीन वित्त परिचालन सम्बन्धी नयाँ कानून बनाउने प्रकृया अघि बढेको जानकारी दिँदै अर्थमन्त्री पौडेलले रचनात्मक सुझाव दिन विकास साझेदारहरूलाई अनुरोध गरे ।

सार्वजनिक वित्त व्यवस्थापन प्रणाली सुधारमा पनि सरकारले जोड दिएको उल्लेख गर्दै अर्थमन्त्रीले सार्वजनिक लगानीमा र हरित अर्थव्यवस्था निर्माणमा लचिलो र एकीकृत दृष्टिकोण निर्माण गर्दै जलवायु न्यूनीकरण र अनुकूलन पहलहरूमा विकास साझेदारहरूसँग सहकार्य गर्न सरकार उत्सुक भएको जानकारी गराए । राजस्व परिचालनलाई दिगो बनाउन नयाँ राजस्व परिचालन रणनीति लागू गर्न प्रतिबद्ध भएको बताउँदै अर्थमन्त्री पौडेलले विकासका सबै प्रयासका लागि वित्तीय श्रोत जुटाउन आन्तरिक प्रयासहरू पर्याप्त नभएको उल्लेख गरे ।

विकास सहायता नेपालको वित्त व्यवस्थापनको एक महत्त्वपूर्ण आधारशीला भएको उल्लेख गर्दै उनले अझ प्रभावकारी र दिगो परिणाम हासिल हुने गरी साझा प्रयासहरूलाई अगाडि बढाउन विकास साझेदाहरूलाई आग्रह गरे । कार्यक्रममा विकास साझेदारका प्रतिनिधिहरूले नेपालको आर्थिक विकासमा थप सहयोग गर्न आफूहरू तयार रहेको बताउँदै उच्‍चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेकोमा सरकारलाई धन्यवाद दिएका थिए ।

उनीहरूले क्रेटिड रेटिङको नतिजाले नेपालमा बाह्य लगानीलाई थप आकर्षण गरेको बताएका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको