अर्थ संसार, काठमाडौं - धितोपत्र बोर्डले माघ ०७३ मा एउटा अनौठो आँकडा सार्वजनिक गर्यो ।
एउटै व्यक्तिले २० वटा कम्पनी खोलेर सेयर बजारमा लगानी गरेको फेला परेपछि बोर्ड नै झस्किएको थियो । थप अध्ययन गर्ने बोर्डको निर्णय भने कार्यान्वयनको तहमा देखिएको छैन ।
बोर्डले सेयर बजारमा हुने गरेको चलखेलको विषय सार्वजनिक गरेको थियो, त्यतिबेला । बजारमा पहिले पनि ठूला लगानीकर्ताले चलखेल गर्ने गरेको गुनासो व्यापक थियो ।
तथापि, सेयर बजारको आकार बढेर १७ खर्ब रुपैयाँबराबरको हुँदा त्यस्तो गुनासो केही कम भएको छ । निमिट्यान्न भने भएको छैन ।
त्यसै पनि, व्यक्तिगत वा समूहगत लगानीकर्ताहरुले बजारलाई ठूलो प्रभाव पार्ने क्षमता गुमाइ सकेका छन् । टेको लगाउन सक्ने क्षमता भने उनीहरुमा देखिन्छ ।
‘अन्तिम समयमा बजारको आकार थोरै भए पनि बढ्नु र कुनै कम्पनीको सेयर मूल्य त्यस दिनको न्युनतम विन्दुभन्दा माथि पुग्नु चलखेलको एक उदाहरण हो,’ सेयर विश्लेषक प्रकाश तिवारी भन्छन् ।
लगानीकर्ताहरुलाई बजार सम्हालिने प्रयासमा रहेको सन्देश दिन चलखेल हुन्छ बजारमा
यसरी हुन्छ चलखेल
बजार परिसूचक घटेर डुबुल्की मार्दै गर्दा कुनै कम्पनीको सेयर मूल्य बढ्छ । र, रातो रंगले पोतिएको बजारमा ‘हरियो’ घेरा देखिन्छ । धेरैजस्तो अवस्थामा घेरामै सीमित रहने नगरेको पनि होइन ।
रातो भइरहेको नेप्से सूचकलाई हरियो देखाउन सकिने त्यो एउटा कम्पनी हो, नेपाल टेलिकम । अहिले बजारमा एक सय ९४ वटा कम्पनीका तीन अर्ब १७ करोड कित्ता सेयर सूचीकृत छन् । त्यसमध्ये टेलिकमको १५ करोड कित्ता छ ।
केही वर्ष अघिसम्म सामान्य अवस्थामा टेलिकमको सेयर मूल्य तीन रुपैयाँले बढ्दा नेप्से परिसूचक एक अंकले उक्लिने गर्थ्यो । अहिले भने त्यो प्रभाव नदेखिने नेप्सेका प्रवक्ता मुराहरि पराजुली बताउँछन् ।
‘पहिले टेलिकमको सेयरको परिसूचक गणनामा भार धेरै देखिन्थ्यो र यस्तो हुन्थ्यो । अहिले कुनै एउटा कम्पनीकै कारण ठूलो उथलपुथल गर्न सम्भव छैन्,’ पराजुली भन्छन् ।
पहिले टेलिकमको बजार पुँजीकरण कुल बजार पुँजीकरणको २० प्रतिशतसम्म हुन्थ्यो । मंसिरसम्मको तथ्यांकबाट भने टेलिकमको हिस्सा सात प्रतिशतमा खुम्चिएको देखिन्छ । त्यसपछिको पंक्तिमा नबिल, स्ट्यान्डर्ड चार्टर्ड र एभरेस्ट बैंक देखिन्छन् ।
मूल्य उच्च भएका कारण स्ट्यान्डर्ड चार्टर्डजस्ता आठ अर्ब चुक्ता पुँजी नपुगिसकेका बैंकहरुको भार पनि तेस्रो स्थानमा देखिन्छ । स्ट्यान्डर्ड चार्टर्डको तुलनामा सेयर मूल्य कम भए पनि टेलिकमको सेयर संख्या धेरै भएकाले भार बढी देखिने गरेको हो ।
टेलिकमले अहिले एक अंकको दरमै नेप्से बढाउन नसके पनि त्यसभन्दा कमले भने वृद्धि गर्न सक्छ ।
यसो किन गर्छन् लगानीकर्ताहरु रु तिवारीको सहज जवाफ छ, ‘ अन्य लगानीकर्तालाई बजार सम्हालिने प्रयासमा छ भन्ने सन्देश दिन ।’
लगानीकर्ताले टेलिकममा मात्र यस्तो रणनीति अपनाउँदैनन् । बजारमा ठूलो हिस्सा रहेका मात्र नभई अन्य कम्पनीको सेयरमा पनि यस्तो खेल हुन्छ ।
मानौं, कुनै कम्पनीको प्रतिकित्ता सेयर मूल्य कारोबारको मध्यमा ६ सय १५ रुपैयाँ छ । बजार बन्द हुन लाग्दासम्म कारोबार मूल्य ६ सयसम्म झर्यो । यस्तो अवस्थामा लगानीकर्ताले उक्त सेयरको मूल्य २र४ रुपैयाँले बढाएर अन्तिममा केही कारोबार गर्न सक्छन् ।
यसको फाइदा के त ? ‘भोलिपल्ट पनि त्यस कम्पनीको सानोतिनो परिमाणमा सेयर मूल्य बढाएर बिक्रीमा राख्दा बजार घटेछ भने पनि आफूले अघिल्लो दिन किनेको मूल्यमा आउँदा धेरै परिमाण बेच्न सकिन्छ,’ एक लगानीकर्ता भन्छन् । अर्को दिन बिहान बजार खुल्दा २ प्रतिशतले मूल्य बढाएर वा घटाएर किनबेच आदेश राख्न सकिने व्यवस्था छ ।
यस्तो रणनीति आफूसँग एउटै संस्थाको हजारौं कित्ता सेयर हुने ठूला लगानी कम्पनी र समूहले बढी गर्ने उनी बताउँछन् ।
सबैले सेयर बिक्री गरेर फाइदा लिन मात्र पनि यो रणनीति अपनाउँदैनन् । कतिपयले मार्जिन कलबाट बच्नसमेत यही रणनीतिको सहारा लिन्छन् ।
ग्राहकले धितो राख्ने सेयरको एक सय ८० दिनको औसत वा बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको ५० प्रतिशतबराबर रकम बैंकहरुले कर्जा दिन्छन् । बजार मूल्यमा हुने परिवर्तनसँगै यस्तो मूल्यांकन पनि घटबढ हुन्छ । मूल्यांकन घटेमा बैंकले धितो बढाएर पुनः ५० प्रतिशत दर कायम गर्न मार्जिन कल गर्ने गर्छन् ।
कतिपय कम्पनीको चासो पनि आफ्नो सेयर मूल्यलाई एउटा निश्चित विन्दुमा कायम राखिराख्ने हुन्छ । कम्पनीले नै यस्तो रणनीति अपनाउनेभन्दा पनि त्यसका ठूला लगानीकर्ताहरुले चलखेल गर्ने गरेको ती लगानीकर्ता बताउँछन् ।
बजारमा ग्राहक आफैंले बिक्रीमा राखेको सेयर आफैंले खरिद गर्न सक्दैनन् । त्यसैले यसरी खेल्न या त लगानीकर्ताहरु समूहमा जट्छन् या आफ्नै नाममा भएका अन्य लगानी कम्पनीहरुको प्रयोग गरिन्छ । अनलाइनखबरबाट
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस