Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यदर्शन सहकारी ठगी प्रकरण: आज पनि प्रतिवादीतर्फका वकिलहरूको बहस

अर्थ संसार

बुधबार, २४ पुस २०८१, १० : ३९ मा प्रकाशित

सूर्यदर्शन सहकारी ठगी प्रकरण: आज पनि प्रतिवादीतर्फका वकिलहरूको बहस

कास्कीको सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा कास्की अदालतमा दायर भएको मुद्दामा प्रतिवादीहरूको थुनछेक बहस आज पनि जारी छ। 

गत मंगलबारदेखि उक्त मुद्दाका आरोपीहरूलाई  सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा थुनामा पठाउने कि बाहिर बसेर मुद्दा लड्न दिने भन्नेबारेमा पक्ष विपक्षमा बहस भइरहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, लिला पछाई, रामप्रसाद खनाल, मिना गुरूङ, आरती गुरूङ र कृष्णबहादुर गुरूङ मुद्दाका प्रतिवादी छन्।

सुरूमा सरकारी वकिल त्यसपछि जाहेरवाला सहकारी पीडिततर्फका वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका वकिलहरूले बहस गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट मंगलबार बहस सकिएको छ। त्यसअघि पूर्वडिआइजी छविलाल जोशी र लिला पछाईंतर्फका वकिलहरूले पनि बहस गरिसकेका छन्।

रविका तर्फबाट सोमबार वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, रमण श्रेष्ठ र सुरेन्द्र थापा (क्षेत्री) ले बहस गरेका थिए।आज पनि अधिवक्ताहरूले बहस गर्नेछन् ।

पूर्वडिआइजी छविलाल जोशी र लिला पछाईंतर्फबाट वकिलहरूले बहस गरेका थिए। जोशीको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका थिए।अब चार जना प्रतिवादीहरू कृष्णबहादुर गुरूङ, आरती गुरूङ, मिना गुरूङ र रामप्रसाद खनालका वकिलहरूले आजदेखि बहस गर्नेछन्।

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको