Like us!
Follow us!
Connect us!
Watch us!

संसदीय समितिमै सांसद सुवाललाई सभापति राजकिशोरले ‘औंला तल राख्नुस्, नौटङ्की गर्ने?’ भनेपछि...........

अर्थ संसार

विहीबार, २५ पुस २०८१, १४ : ५५ मा प्रकाशित

संसदीय समितिमै सांसद सुवाललाई सभापति राजकिशोरले ‘औंला तल राख्नुस्, नौटङ्की गर्ने?’ भनेपछि...........

संसदीय समितिमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालबीच चर्काचर्की परेको छ ।

यादव प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति हुन् भने सुवाल सोही समितिका सदस्य हुन् ।

बिहीबार समितिमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल थियो ।छलफलमा कार्यसूची बाहिरको विषय राखेको र लामो समय लिएको भनेर सुवाललाई सभापति यादवले रोक्न खोजे । त्यसपछि यादव र सुवालबीच चर्काचर्की परेको हो ।

आफ्नो असहमतिलाई सभापतिले वेवास्ता गरेको भन्दै सांसद सुवालले कडा स्वरमा प्रश्न उठाएका थिए। त्यसपछि यादवले उत्तेजित जवाफ फर्काए। यादवको छेउमै बसेका माधव नेपाल मुसुमुसु हाँसे मात्रै, केही बोलेनन्। सुवालले ‘औंला ठड्याएर’ सत्ताधारी दलका सांसदले जति पनि समय बोल्ने आफूलाई बोल्न समय नदिने विषयमा असहमति रहेको बताए । त्यसपछि सभापति यादवले आफूबाट कसैलाई विभेद नरहेको भन्दै औंला नठड्याउन आग्रह गरे ।

त्यसबेला यादवले समितिको बैठक सकिएको घोषणा गरिसकेका थिए । बैठक सकिएको घोषणा गरेपछि सुवालले उनीतिर औंला तेर्साउँदै भनेका थिए, ‘सभापतिज्यूले जथाभावि नगर्नुस्।  मैले बोल्न पाउँछु कि पाउँदिन? मैले सहमति छैन भन्दा भन्दै कि जबरजस्ति गर्नुभयो?’  सुवालको भनाइ/ प्रश्नको जवाफ नदिइकन यादवले उनलाई थर्काउँदै भने, ‘औंला तल राख्नुस, नौंटंकी गर्ने?’ सुवालले निरंकुश ढंगले बैठक नचलाउन यादवलाई चेतावनी दिए।

‘तपाईं निरंकुश बन्न नखोज्नुस, यो राणा शासन होइन, तपाईं राणाको अवतार लिन नखोज्नुस्। जसरी राणा शासन समाप्त भयो, त्यसैगरि तपाईं यो समितिबाट हुत्तिनुहुन्छ होस गर्नुस । तपाईं पनि एक्लै म पनि एक्लै, के फुर्ति गर्नुहुन्छ?’ सुवाल चर्किए ।

उनले थपे, ‘मेरो आपत्ति छ भनेपछि के हो भनेर सोध्नुपर्दैन सभापति ? अनुपस्थित सदस्यको नाममा समिति बनाएर के गर्न खोज्नुभएको ? तपाईं निरंकुश बन्ने?’

त्यसपछि यादव जुरुक्कै आफ्नो कुर्सीबाट उठेर भने, ‘हो, बन्ने । के गर्नुहुन्छ ?’ ‘तपाईं निरंकुश बन्नुभयो भने सकिनु हुन्छ । कुन दिन सिधिन्छ यो सभापति अनि थाहा हुन्छ।’ यति भनेर भुट्भुटिँदै निस्किए सुवाल।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको