Like us!
Follow us!
Connect us!
Watch us!

सात बैंकको लगानीमा धादिङमा बन्ने भयो ४३ मेगावाटको आँखु जलविद्युत आयोजना

मंगलबार, १८ पुस २०७४, १५ : २२ मा प्रकाशित

सात बैंकको लगानीमा धादिङमा बन्ने भयो ४३ मेगावाटको  आँखु जलविद्युत आयोजना

स्थानीयको लगानी समेत सदुपयोग गरिने

अर्थ संसार, काठमाडौं – नेपाल उद्योथग वाणिज्य महासंघको ऊर्जा समितिका सभापति हुन् ज्ञानेन्द्रलाल प्रधान । नेपालको जलविद्युत्को विकास र विस्तारका लागि लामो समयदेखि बहस तथा पैरवी पनि गर्दै आएका छन् ।

साना तिना जलविद्युत् आयोजनामा सहभागी भएका र निर्माण समेत गरेका प्रधानको देखिने र मान्छेले पहिचान गर्ने खालको कुनै पनि आयोजना थिएन । सधै बहस तथा पैरवीमा रमाउने प्रधानलाई पछिल्लो समय आयोजना बनाउने रौनक चढेछ ।

उनले विगत लामो समयदेखि धादिङको आँखु खोलमा एउटा विद्युत् आयोजनाको अनुमतिपत्र लिएर बसेका थिए ।

आयोजना निर्माणमा लैजाने सुरुसार नगरेको आरोप पनि उनीमाथि लाग्ने गर्दथ्यो । तर आज उनै प्रधानको कम्पनी (हाइड्रो सोलुसन मुख्य लगानीकर्ता रहेको) ले  आँखु हाइड्रो पावरको विभिन्न बैंक तथा वित्तिय संस्थासँग ऋण सम्झौता गर्न लागेको छ ।

सो आयोजनामा सनराइज बैंकको नेतृत्वमा ७ वटा बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् ।

धादिङ जिल्लाको आँखु नदीमा निर्माण हुन लागेको ४३ मेगावाट क्षमताको उक्त आयोजना हाइड्रो सोलसुनले प्रवद्र्धन गर्न लागेको हो ।

आँखु हाइड्रो पावर लिमिटेडका प्रमुख इन्जिनियर प्रधानकाअनुसार आयोजनामा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड, बैंक अफ काठमाडौँ , सेन्चुरी बैंक, ज्योति विकास बैंक, लक्ष्मी बैंक, एनसिसि बैंक, प्रभु बैंकले संयुक्त रुपमा लगानी गर्ने भएका छन् ।

लगानी सम्बन्धी द्विपक्षीय सम्झौतामा आज मंगलबार हस्ताक्षर गर्ने कार्यक्रम रहेको इन्जिनियर प्रधानले बताए ।

कुल ६ अर्ब ३० करोड लागत रहेको सो आयोजनामा ७५ प्रतिशत बैंक तथा वित्तिय संस्थाको लगानी रहनेछ भने १६ करोड स्थानीयले लगानी गर्न पाउने गरी व्यवस्था गरिएको छ ।

यस्तै २४ करोड बराबरको साधारण सेयर जारी गर्ने गरी आवश्यक तयारी गरिएको छ ।

आयोजनाबाट उत्पादित विद्युत् ३० किलोमिटर लामो प्रसारण लाइन मार्फत नुवाकोटको त्रिशुली थ्री ए वा बीका लागि निर्माण गरिने सवस्टेशनमा जोडिनेछ ।

प्रसारण लाइन निर्माणसमेत आफै गर्ने तयारीका साथ आयोजना निर्माणमा जुटेको उनको भनाइ छ ।

आगामी तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजना धादिङमा निर्माण हुन लागेको महत्वपूर्ण आयोजना मध्ये एक हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको