राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्ने तयारी गरेको पोखरा फाइनान्सले खराब वित्तीय विवरण सार्वजनिक गरेको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमै राष्ट्र बैंकले ४१ प्रतिशत खराब कर्जा कायम गरिदिएको पोखरा फाइनान्सले दोस्रो त्रैमासमा ३३.४४ प्रतिशत खराब कर्जा देखाएको छ।
राष्ट्र बैंकले पुँजीकोष ८ प्रतिशतभन्दा बढीले ऋणात्मक देखाएपछि दोस्रो त्रैमासमा फाइनान्सले ३.१७ प्रतिशतले ऋणात्मक देखाएको छ। यो त्रैमास सम्ममा कम्पनीले ६३ करोड ७९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत वर्ष यसले २ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो ।
फाइनान्सको खुद ब्याज आम्दानी पनि १७.८३ प्रतिशतले घटेर १४ करोड ३० लाख रुपैयाँमा झरेको छ । गत वर्ष यसले १७ करोड ४१ लख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । पुससम्ममा कम्पनी ९५ करोड ७९ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको छ । गत वर्ष फाइनान्सले ४ करोड ३९ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
कम्पनीको इम्पेयरमेन्ट चार्ज पनि ३ करोडबाट बढेर १ अर्ब ५२ लाख रुपैयाँ भएको छ । खुद ब्याज घट्नु, सञ्चालन घाटामा रहनु तथा इम्पेयरमेन्ट चार्ज बढ्दा कम्पनी नोक्सानमा रहेको हो । यसको वितरणयोग्य नाफा १ अर्ब ५५ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।
फाइनान्सको प्रतिसेयर आम्दानी ५८ रुपैयाँ ९३ पैसा ऋणात्मक रहेको छ । गत वर्ष प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३७ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ ५३ रुपैयाँ ९७ पैसा छ ।
राष्ट्र बैंकले फाइनान्सको वित्तीय स्थिति हेरेर १५ दिनभित्र सफाइ पेश गर्न निर्देशन दिइसकेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस