क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आज (माघ १५ गते) देखि आइपीओ जारी गर्न लागेको छ।
नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबर आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले २२ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ।
कम्पनीले पहिलो चरणमा कुल निष्कासनको १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँबराबर अर्थात २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले माघ २९ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ 'डबल बी' प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
आइपीओ जारी गर्ने क्रेस्ट माइक्रो लाइफ दोस्रो लघु बीमा कम्पनी हो। यसअघि गार्डियन माइक्रो लाइफले आइपीओ जारी गरेर बाँडफाँडसमेत गरिसकेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस