नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीको कार्यकाल २०८१ पुस २५ गते (९ जनवरी २०२५) मा समाप्त हुँदैछ। कार्की २०७८ माघ २० गते तीन वर्षे कार्यकालका लागि नेप्सेको सीईओमा नियुक्त भएका थिए।
कृष्ण बहादुर कार्कीको समाप्त हुँदै गर्दा नेपाल स्टक एक्सचेञ्ज लिमिटेड कर्मचारी यूनियनले सरकारसँग एक महत्वपूर्ण अपिल गरेको छ।
यूनियनले पुँजी बजारको समग्र विकास र लगानीकर्ताको हितमा प्रभावकारी काम गर्नका लागि पुँजी बजारको गहिरो ज्ञान र सिप भएका एक सक्षम नेतृत्वको खाँचो रहेको बताएका छन्। नेप्सेले हालै आफ्नो पुनर्संरचना प्रक्रिया, साना तथा मझौला कम्पनीहरूको सेयर कारोबारको अवसर विस्तार, नयाँ कारोबार योग्य औजारहरूको परिचय र प्रविधिको आधुनिकीकरण जस्ता चुनौतीपूर्ण कार्यहरूमा प्रगति गरेको छ। यी सबै प्रक्रियाहरूलाई सही दिशा र गति दिनका लागि सक्षम र प्रतिबद्ध नेतृत्व आवश्यक रहेको यूनियनको भनाइ छ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड कर्मचारी यूनियनका अध्यक्ष नबराज थापाले नेपाल सरकारको अर्थ मन्त्रालयलाई अपिल गर्दै, नेप्सेको प्रमुख कार्यकारी अधिकृतको लागि पुँजी बजारको गहिरो समझदारी, व्यावसायिक क्षमता र नैतिक मूल्यहरू भएका व्यक्तिलाई नियुक्त गर्न आग्रह गरेका छन्। यस नेतृत्वले मात्र नेप्सेको पुनर्संरचना प्रक्रिया सफल बनाउन र पुँजी बजारको विकासलाई तीव्र गति दिन सक्षम हुने विश्वास गरिएको छ।
यूनियनका अनुसार, अहिलेको समयमा पुँजी बजारको सुधार र लगानीकर्ताको विश्वासको संरक्षणलाई प्राथमिकता दिनु आवश्यक छ। पुँजी बजारको सुदृढीकरणले न केवल नेपालका लगानीकर्ताहरूको हित र संरक्षणमा मद्दत पुर्याउनेछ, तर समग्र आर्थिक वृद्धिमा पनि योगदान पुर्याउनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस