Like us!
Follow us!
Connect us!
Watch us!

दर्ता हुन नआए फेसबुकलाई चल्न दिँदैनौं : सञ्चारमन्त्री गुरुङ

अर्थ संसार

बुधबार, २३ माघ २०८१, १४ : २४ मा प्रकाशित

दर्ता हुन नआए फेसबुकलाई चल्न दिँदैनौं : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्‍जाल दर्ता हुन नआए प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। नेपालमा दर्ता नभएका कुनै पनि सामाजिक सञ्जाल चल्न नदिने उनको चेतावनी छ।

उनले भने, ‘हामीसँग अहिले दर्ता भएर, प्वाइन्ट अफ कन्टयाक्ट तोकेर बसेको आज टिकटक मात्रै छ । हामीले मेटालाई बोलाइरहेका छौँ, आउँछ, की आउँदैन, हेर्न बाँकी छ । आएन भने नेपालमा चल्न दिन्नौं ।’

सञ्चारमन्त्री गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताए ।

सामाजिक सञ्जाल अराजक बन्दै गएको र त्यसलाई नियमन गर्नुपर्ने आम नागरिकहरुकै मागका कारण सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याइएको उनको भनाइ छ । ‘हाम्रो सामाजिक सद्भाव जसले भत्काउँछ, त्यसलाई हामीले राखेकै छौँ । हाम्रो धार्मिक सहिष्णुता भत्काउनेलाई राखेका छौँ,’  उनले भने, ‘त्यसलाई हामी रोक्न चाहन्छौँ, त्यसलाई हामी नियमन गर्न चाहन्छौँ । त्यसैले हामीलाई यो विधेयक चाहिएको हो ।’

उनले मनपरी लेख्ने, मनपरी गर्नेकुरा लोकतन्त्र नभएको भन्दै त्यसकै नियमनका लागि संसद्‌मा सामाजिक सञ्जाल सञ्चालन र नियमन गर्ने विधेयक पेश गरिएको बताए । उनले केहीले विरोध सुरू गरेको भएपनि लोकतन्त्रमा उक्त कुरा स्वभाविक रहेको बताए ।

उनले भने, ‘धेरैको माग के छ भने यो सोसल मिडियालाई रेगुलेट गर्दिनुपर्‍यो भन्ने छ ।  यो मनपरी गर्ने, मनपरी भन्नेकुरा लोकतन्त्र होइन होला नि त । त्यसैले हामीले सोसल मिडिया प्रयोग, सञ्चालन र नियमन गर्ने विधेयक पेश गरेका छौँ । विरोध अलिअलि सुरू भएको छ । लोकतन्त्रमा विरोध त भइहाल्छ ।’

‘कसैले भन्छ, मनपरी लेख्न पाउने, सबैकुरा भन्न पाउने, देशको बारेमा मनपरी भन्न पाउने नै लोकतन्त्र भन्छ भने त्यसमा हाम्रो सहमत छैन । त्यो प्रेस फ्रिडम होइन,’ उनले भने, ‘जनताको सूसुचित हुने अधिकार खोसिनु भएन । त्यसको ग्यारेन्टी हुनुपर्‍यो । जनताको अभिव्यक्ति स्वतन्त्रता र वाक स्वतन्त्रताको प्रत्याभुति हुनुपर्‍यो, ग्यारेन्टी हुनुपर्‍यो । त्यो पनि गर्छौं।’

 

दर्ता हुन आउनेलाई सञ्चालनका लागि सरकारले सहज वातावरण मिलाउने उनको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको