५ प्रतिशतको हाराहारीमा रहेको अन्तरबैंक ब्याजदर आइतबारसम्ममा २.९७ प्रतिशतमा झर्यो
अर्थ संसार, काठमाडौं– वित्तीय प्रणालीमा तरलता बढ्दै गएपछि अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल झरेको छ ।
पुसको पहिलो सातातिर ५ प्रतिशतको हाराहारीमा रहेको अन्तरबैंक ब्याजदर आइतबारसम्ममा २.७ प्रतिशतमा झरेको हो । बजारमा तरलता बढ्दै गएपछि अन्तरबैंक ब्याजदर करिडोरको तल्लो बिन्दुभन्दा पनि तल झरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए ।
अहिले वित्तीय प्रणालीमा ५१ अर्ब रुपैयाँ तरलता रहेको जानकारी पनि कार्यकारी निर्देशक थापाले जानकारी दिए । ‘अनिवार्य नगद मौज्दात अनुपात (सिआरआर) बाहेक नै बजारमा ५१ अर्ब रुपैयाँ तरलता छ,’ थापाले बताए, ‘प्रणालीमा तरलता रहेकै कारण अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल झरेको हो ।
कुनै–कुनै बैंकले त एक–आपसमा २ प्रतिशतसम्ममा पनि कारोबार गरिरहेको जानकारी उनले दिए । ‘बैंकहरूले नै तय गरेको आपसी कारोबारको ब्याजदर ३ प्रतिशतभन्दा तल हुनु भनेको बजारमा तरलता छ भन्नु नै हो,’ उनले भने ।
२ अर्ब खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल झरेपछि तरलता प्रशोचन गर्ने भएको छ । ब्याजदर करिडोरको अवधारणाअनुसार अन्तरबैंक ब्याजदर ३ प्रतिशत तल झरेमा राष्ट्र बैंकले बैंकहरूबाट पैसा प्रशोचन गर्छ ।
राष्ट्र बैंकले सोमबार २ अर्ब रुपैयाँ निक्षेप संकलनका लागि सूचना जारी गरेको छ । ब्याजदर निकै तल जाने दबाब सिर्जना भएकाले राष्ट्र बैंकले तरलता प्रशोचन गर्ने भएको हो ।
तरलता सहज बन्दै
लगानीयोग्य तरलताको अभाव भएपछि बैंकहरूले कर्जा प्रवाह रोकेका छन् । यहीबीचमा राष्ट्र बैंकले करिब ३५ अर्ब रुपैयाँ बजारमा पठाइसकेको छ । त्यस्तै, पछिल्लो एक सातामै बैंकहरूले २–३ अर्ब रुपैयाँ निक्षेप संकलनसमेत गरेका छन् । यसले बजारमा तरलता सहज बन्दै गएको छ ।
कर्जामा आक्रामक नभएपछि तरलता सहज बन्दै गएको एनसिसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल बताउँछन् । ‘निक्षेपको तुलनामा कर्जा प्रवाह अधिक हुँदा प्रणालीमा समस्या आएको थियो,’ उनले भने, ‘अहिले आक्रामक कर्जा प्रवाह रोकिएको छ, त्यसैले तरलता केही सामान्य बन्दै गएको छ ।’
अनुशासनमा बस्नेलाई समस्या छैन
कर्जा र निक्षेपको क्षमता मुलुकको अर्थतन्त्रले निर्धारण गर्ने भएकाले सोहीअनुसार अनुशासनमा बस्ने बैंक तथा वित्तीय संस्थालाई कुनै समस्या नहुने राष्ट्र बैंकका कार्यकारी निर्देशक थापा बताउँछन् । बैंकहरूले आफ्नो क्षमताभन्दा माथि गएर कर्जा प्रवाह गरेकाले उनीहरूले अप्ठ्यारो महसुस गरेको हुन सक्ने उनको भनाइ छ ।
तर, अझै पनि बैंकहरूले लगानीयोग्य तरलताको अभाव छ भन्नु बदमासी भएको उनको टिप्पणी छ । ‘२० हजार तलब भएको व्यक्तिले २० हजार खर्च गरेर खर्चयोग्य पैसा भएन भन्नु सही हो कि गलत रु’ प्रश्न गर्दै उनले भने, ‘बैंकहरूले क्षमताअनुसार निक्षेप कर्जाको सन्तुलन नगरेर उल्टै लगानीयोग्य तरलता अभाव भयो भन्दै गलत बोलिरहेका छन् ।’
लगानीयोग्य रकमको अझै अभाव : बैंकर
बैंकरहरूले भने लगानीयोग्य तरलताको अझै अभाव रहेको बताएका छन् । राष्ट्र बैंकले प्रवाह गरेको तरलताले सिआरआर कायम गर्न सहज मात्रै भएको उनीहरूको भनाइ छ । अन्तरबैंक कारोबार छोटो समयका लागि मात्रै भएको यसको ब्याजदरले बजारमा तलरता अधिक भएको मान्न नसकिने लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ बताउँछन् ।
‘बैंकहरूको निक्षेप–पुँजी–कर्जा अनुपात (सिसिडी रेसियो) ७७ प्रतिशतदेखि ७७.५ प्रतिशतको हाराहारीमा छ,’ उनले भने, ‘तरलता देखिएको भए पनि लगानीयोग्य तरलताको भने अभाव भएको हो ।’ नयाँपत्रिकाबाट
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस