Like us!
Follow us!
Connect us!
Watch us!

चिसो बढेपछि सामुदायिक विद्यालय तीनदिनका लागि बन्द

सोमबार, २४ पुस २०७४, १४ : २५ मा प्रकाशित

चिसो बढेपछि सामुदायिक विद्यालय तीनदिनका लागि बन्द

  • राजेन्द्रप्रसाद पनेरु

अर्थ संसार, कञ्चनपुर– अत्यधिक चिसो र शीतलहरका कारण कञ्चनपुरका सामुदायिक विद्यालय आजदेखि तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

जिल्ला शिक्षा कार्यालयमा बसेको बैठकले जिल्लाका सबै सामुदायिक विद्यालयमा यही पुस २४, २५ र २६ गते बिदा दिने निर्णय गरेको हो । “अत्यधिक चिसोसँगै शीतलहर चल्न थालेपछि बालबालिकालाई विद्यालयमा पढाउनसमेत अप्ठेरो हुन थालेकाले विद्यालय बिदामा मिलान हुने गरी तीनदिन विद्यालयमा बिदा दिने निर्णय गरेका छौँ”, जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टले भन्नुभयो ।

विद्यालयमै आगो बालेर बालबालिकालाई पढाउनु पर्ने अवस्था आएकाले बिदा दिइएको उहाँले बताउनुभयो ।

चिसोले जनजीवन प्रभावित

अत्यधिक चिसो र शीतलहरका कारण कञ्चनपुरको जनजीवन नराम्ररी प्रभावित भएको छ । चिसो बढेसँगै सुकुम्बासी, निकुञ्ज पीडित तथा मुक्तकमैया बस्तीका बासिन्दा बढी प्रभावित भएका छन् । न्यानो लुगा र चिसो छल्ने सामथ्र्य नभएका गरिब बस्तीका बासिन्दा चिसोबाट बढी प्रभावित भएका हुन् ।

पर्याप्त न्यानो लुगाफाटो नभएका कारण कठ्याङ्ग्रिँदो जाडोमा प्रभावित हुनुपरेको ढक्का निकुञ्ज पीडित शिविरमा बस्दै आउनुभएका सरिता नेपालीले बताउनुभयो ।

चिसोका कारण गरिबीको मार खेप्दै आएका निकुञ्ज पीडित बस्तीका गर्भवती, सुत्केरी महिला, नवजात शिशु, विद्यालय जाने उमेरका केटाकेटी र वृद्धावस्थामा रुघाखोकी ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ ।
बाक्लो हुस्सु, कुहिरो र शीतलहरका कारण कृषकले लगाएको आलु, गोलभेँडालगायतका तरकारीबालीसमेत प्रभावित भएको छ । डढुवाका कारण तरकारी बालीमा असर देखिन थालेपछि किसानलाई विषादीको प्रयोग गर्न कृषि प्राविधिकले सल्लाह दिन थालेका छन् ।

बाक्लो हुस्सु, कुहिरो र शीतलहरका कारण ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा रुघाखोकी, ज्वरो, निमोनिया र श्वासप्रश्वाससम्बन्धी बिरामीको संख्या बढ्न थालेको छ ।
बाक्लो हुस्सु र कुहिरोका कारण यहाँको यातायात सेवासमेत प्रभावित बनेको यातायात व्यवसाय समितिका अध्यक्ष नवीन भट्टले बताउनुभयो । चिसोले घर बाहिर हिँडडुुल गर्न कठिनाइका कारण मानिस यात्रामा निस्कन सकेका छैनन् ।

चोक चोकमा दाउरा बाल्ने व्यवस्था

शुक्लाफाँटा नगरपालिकाले अत्यधिक चिसो बढेपछि आजदेखि चोक चोकमा दाउरा बाल्ने व्यवस्था मिलाएको छ ।वातावरण मध्यवर्ती सामुदायिक वनबाट निःशुल्करुपमा दाउरा उपलब्ध गराई नगरपालिकाका चोक चोकमा बाल्ने व्यवस्था गरिएको हो ।

झलारी बजार, वन समिति बजार, गर्जमुनि बजार र कलुवापुर बजारका ठाउँ ठाउँमा दाउराको व्यवस्था गरी आगो ताप्ने व्यवस्था मिलाइएको नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका, यात्रु र व्यवसायी यसबाट लाभान्वित भएको जानकारी दिंदै उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रमा समेत दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाउन लागेका छौँ ।”

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको अग्नि नियन्त्रण तथा विपद् व्यवस्थापन शाखाले शीतलहर तथा हिमपात पूर्वतयारीका लागि सतर्कता अपनाउन गरेको पत्राचारअनुसार दाउराको व्यवस्था गरिएको उहाँको भनाइ छ ।
यसैगरी, बेलौरी नगरपालिकाले समेत चिसोबाट सर्वसाधारणलाई जोगाउन बेलौरी, कलकत्ता, गोकुलपुरलगायत क्षेत्रमा आगो बाल्ने व्यवस्था गरिएको जनाइएको छ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको