अर्थ संसार, गौर, रौतहट–दिनप्रतिदिन बढ्दो शीतलहरका कारण रौतहटमा जाडोले कठ्यांग्रिएर पाँच जनाको मृत्यु भएको छ ।
आइतबार मात्रै परोहा नगरपालिका–२ का ४५ वर्षीय शेख समिम र वडा नं ९ का ६५ वर्षीय मरसियादेवी कुर्मीको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसअघि शनिबार गडीमाई नगरपालिका–४ का ५५ वर्षीय महर्जन ठाकुर हजाम, राजदेवी नगरपालिका–७ मुडवलवाका ७५ वर्षीय अयोधी राय यादव र गढीमाई नगरपालिका–१ स्थित चिमनी भट्टामा काम गर्न आएका सर्लाहीका नेकमहम्मद अलीको मृत्यु भएको थियो
। मृत्यु हुने सबै विपन्न र रोजगारीका लागि रौतहट आएका मजदूर हुन् । विगत एक हप्तादेखि बाक्लो कुहिरोसँगै शीतलहर बढेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ ।
चिसो हावासँगै शीतको वर्षा हुने गरेका कारणले चिसो अत्यधिक मात्रामा बढेको हो । जिल्लामा शीतलहर बढेपछि जिल्ला वन कार्यालयले अहिलेसम्म नौ स्थानमा दाउरा वितरण गरेको जनाएको छ ।
शीतलहरले जनजीवन प्रभावित भएपछि आपूर्ति समितिबाट सुलभ मूल्यमा दाउरा उपलब्ध गराइएको वन अधिकृत दीर्घनारायण कोइरालाले जानकारी दिनुभयो । रौतहटमा ४२ निजी विद्यालय र ३५१ सामुदायिक विद्यालय सञ्चालित छन् ।
यसैबीच निजी विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले बिदा नदिएको र केही निजी विद्यालयले भने थप दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । विद्यार्थी विद्यालय आउने अवस्था नभएपछि थप दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको मुनलाइट एकेडेमी चन्द्रनिगाहपुरका प्राचार्य श्यामकिशोर चौधरीले बताउनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस