नेपाल बीमा प्राधिकरणको रिक्त रहेको अध्यक्ष पदमा नियुक्तिका लागि ३ जनाको नाम मन्त्रिपरिषदसमक्ष सिफारिस गरिएको छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको नेतृत्वमा गठन भएको सिफारिस समितिले नेपाल बीमा प्राधिकरणको अध्यक्षको लागि पाँच जनासँग लिएको अन्तर्वार्तामा रामशरण पुडासैनी, शरद ओझा र डा. दामोदर बसौलाको नाम सिफारिस गरेको हो । कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता फागुन १० गते अर्थ मन्त्रालयमा गरिएको थियो।
समितिको गत फागुन ४ गतेको निर्णयानुसार सर्टलिस्टमा कमलप्रसाद रेग्मी, चिरिञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा परेका थिए। कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि प्राप्त अंकका आधारमा पहिलो नम्बरमा शरद ओझा, दोस्रोमा रामशरण पुडासैनी र तेस्रोमा दामोदर बस्यौलाको नाम सिफारिस गरिएको छ।
नेपाल सरकार मन्त्रिपरिषदको बैठक आज बस्दैछ । सम्भवतः मन्त्रिपरिषदले यी ३ मध्येबाट १ जनालाई मन्त्रिपरिषदको बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्नेछ।
बसौला स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक र पुडासैनी नेपाल सरकारका पूर्वसचिव एवं कृषि विकास बैंकका अध्यक्ष हुन्। ओझा स्नातक तहमा व्यवस्थापनसम्बन्धी विषयको अध्यापन गर्छन् भने अधिवक्ता, वित्त परामर्शदाता र पूर्वपत्रकार पनि हुन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस