नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनासम्म नेपालको अर्थतन्त्रमा मिश्रित संकेत देखिएको छ। निर्यात वृद्धिको दर उल्लेखनीय देखिए पनि व्यापार घाटा अझै उच्च रहेको पाइएको छ।
समीक्षा अवधिमा निर्यातको एकाइ मूल्य सूचकाङ्क १.१ प्रतिशतले घटेको छ भने आयात मूल्य सूचकाङ्क ०.७ प्रतिशतले बढेको छ। जसका कारण व्यापारको शर्त (Terms of Trade) १.८ प्रतिशतले कमजोर बनेको छ।
नेपालको सेवा खाता अझै पनि घाटामै रहेको छ। चालु आर्थिक वर्षको सात महिनामा सेवा खाता रु. ५० अर्ब २२ करोडले घाटामा देखिएको छ। अघिल्लो वर्ष सोही अवधिमा यो घाटा रु. ३६ अर्ब ३८ करोड थियो। भ्रमण आय ७.७ प्रतिशतले बढेर रु. ४९ अर्ब २१ करोड पुगेको छ, तर भ्रमण व्यय १०.६ प्रतिशतले वृद्धि भई रु. ११५ अर्ब ८८ करोड पुगेको छ।
नेपालको अर्थतन्त्रको प्रमुख आधार विप्रेषण आप्रवाह ७.३ प्रतिशतले बढेर रु. ९०० अर्ब ५८ करोड पुगेको छ। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ।
साथै, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २,७४,६२२ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या १,९०,८८६ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो संख्या क्रमशः २,४५,४३२ र १,५७,०४५ थियो।
समीक्षा अवधिमा चालु खाता रु. १६६ अर्ब ८० करोडले बचतमा देखिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा थोरै वृद्धि हो। शोधनान्तर स्थिति भने अघिल्लो वर्षको तुलनामा कमजोर देखिएको छ। यो रु. २८४ अर्ब ४१ करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको रु. २९७ अर्ब ७२ करोडको तुलनामा केही कम हो।
नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (FDI) बढ्दै गएको देखिएको छ। समीक्षा अवधिमा रु. ७ अर्ब ४५ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको रु. ५ अर्ब १९ करोडभन्दा बढी हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस