१३ औं संस्करणको ग्लोबल मनि विक नेपालमा औपचारिक रुपमा सुरु भएको छ । सोमबार गभर्नर महाप्रसाद अधिकारीले उक्त कार्यक्रमको औपचारीक शुभारम्भ गरे । नेपालमा ग्लोबल मनि विकको राष्ट्रिय संयोजकको रुपमा कार्यक्रममको औपचारिक शुभारम्भ भएको हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सबै नेपालीको बैंक खाता सञ्चालनमा आउनु पर्ने र वित्तीय शिक्षा आवश्यक रहेको बताएका छन्।
कार्यक्रममा गभर्नर अधिकारीले वित्तीय शिक्षाको महत्त्वलाई जोड दिँदै बचत गर्नुपर्ने आवश्यकताबारे प्रकाश पारे।
उनले भने ‘वित्तीय शिक्षामा बचत अनिवार्य छ। जबरजस्ती भए पनि बचत गर्नै पर्छ। घाटि हेरेर हाड निल्नुपर्छ। कुनै सस्तो ठाउँमा सामान कम मूल्यमा पाइन्छ भने महँगो होटलमा सोही सामान महँगो पर्न सक्छ। त्यसैले आम नागरिकले आफ्नो क्षमताअनुसार खर्च गर्नुपर्छ।’
गभर्नर अधिकारीका अनुसार बैंकहरूमा विभिन्न प्रकारका खाताहरू उपलब्ध छन्, जसको ब्याजदर फरक हुन सक्छ। आफ्नो आवश्यकता अनुसार कुन खाता उपयुक्त हुन्छ भन्ने बुझ्नु पनि वित्तीय शिक्षाको एक अभिन्न पक्ष भएको उनले उल्लेख गरे। डिजिटल कारोबारको बढ्दो प्रयोगले नयाँ अवसरहरू सिर्जना गरे पनि जोखिम समेत बढाएको उनले औंल्याए।
गभर्नर अधिकारीले भने,‘लोभलालचमा नपरी डिजिटल कारोबार गर्दा सतर्क रहन आवश्यक छ। '
नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरताको अभिवृद्धि गर्दै डिजिटल वित्तीय सुरक्षा तथा बचतको प्रवर्द्धन गर्न निरन्तर पहल गरिरहेको उनले बताए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस