नेपालको सार्वजनिक ऋणको हिस्सा वर्षेनी बढ्दै गएको छ । तर, उपलब्धिहिन बनिरहेको छ । चालू आर्थिक वर्षको ८ महिनासम्मको तथ्यांकले नेपालको कूल सार्वजनिक ऋण करिब २७ खर्ब रुपैयाँ पुगेको छ । यो नेपालको कूल ग्राहस्थ्य उत्पादनको ४६.९१ % हो ।
सरकारले वार्षिक बजेट सार्वजनिक गर्दा पूँजिगत खर्चको मुख्य स्रोत सार्वजनिक ऋणलाई नै मान्ने गरेको देखिन्छ । तर, ऋण लिने, योजनाअनुसार काम गर्न नसक्ने र समयमा सावाँ ब्याज तिर्न नसक्ने प्रवृत्तिले वर्षेनी ऋणको आकार मात्रै बढिरहेको हो । बढ्दो ऋणले अहिले प्रत्येक नेपालीले ९१ हजार ७ सय ५६ रुपैयाँको भारी उठाइरहनुपरेको छ ।
चालु आर्थिक वर्षको सुरुआत अर्थात् २०८१ साउन १ गतेसम्म यो ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो । कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५०.८३ % तथा आन्तरिक ऋणको हिस्सा ४९.१६ % छ । गत साउन १ गतेसम्म तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड र बाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ थियो । विनिमय दरमा आएको परिवर्तनका कारण मात्र सार्वजनिक ऋणको भार ६६ अर्ब २९ करोड रुपैयाँले बढेको देखिएको छ । चालु आर्थिक वर्षमा सरकारले ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । फागुन मसान्तसम्ममा सरकारले ३ खर्ब ३४ अर्ब ६२ करोड ऋण प्राप्त गरिसकेको छ, जसमा आन्तरिक ऋण २ खर्ब ६९ अर्ब १५ करोड तथा बाह्य ऋण ६५ अर्ब ४७ करोड रहेको छ ।
पूर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले सार्वजनिक ऋणको भार बढ्दै जाँदा चुनौती बढ्दै गएको बताएका छन् ।
उनले यो अवस्था तत्काल नसुधारिए ऋणको भारमै नेपाल डुब्ने बताए
उनले भने,'आफैं खडा गरेको संरचना हो तर संरचना संचालन गरेर जान आर्थिक अहिले गतिविधि घटेर गाको छ । कर्जा प्रवाह शून्य जस्तै छ । सेवाक्षेत्र खुम्चिएको छ । उत्पादन क्षेत्र खुम्चिएको छ । यी सबैले राजस्व त स्वभाविक रुपमै घट्यो । यस्तो हुनुमा प्रशासनिक क्षेत्रको पनि कमजोरी हो । प्रशासनमा आएको अनिश्चितताले यो अवस्था आएको हो ।
यस्तो अवस्था समयमै सुधारीएन भने चाहिँ हामी डुब्छौं।'
यस वर्ष ८ महिना अवधिमा ३ खर्ब ३४ अर्ब ६२ करोड रुपैयाँ बराबर ऋण उठाइएको छ । यस अवधिमा सरकारले आन्तरिक ऋण २ खर्ब ६९ अर्ब १५ करोड उठाएको छ । वाह्य ऋण ६४ अर्ब ४६ करोड उठाएको छ । यो अवधिमा सरकारले १ खर्ब ५८ अर्ब ९८ करोड बराबर भुक्तानी समेत गरेको छ ।
साढे ५ खर्ब ऋण उठाउने लक्ष्य
एक वर्षमा सरकारले साढे ५ खर्ब सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ । फागुन मसान्तसम्म ३ खर्ब ३४ अर्ब ६२ करोड उठाइएको छ । जुन लक्ष्यको ६१.१७ प्रतिशत हो ।
यस अवधिमा आन्तरिक ऋण लक्ष्यको ८१.५६ प्रतिशत उठिसकेको छ । वाह्य ऋण भने ३०.१७ प्रतिशतमात्र उठेको छ । चालु आव आन्तरिक ऋण ३ खर्ब ३० अर्ब र वाह्य ऋण २ खर्ब १७ अर्ब रुपैयाँ उठाउने लक्ष्य राखिएको छ ।
ऋण तिर्न ४ खर्ब बजेट, ५० प्रतिशत खर्च
चालु आव सरकारले सार्वजनिक ऋण भुक्तानीका लागि ४ खर्ब २ अर्ब ८५ करोड विनियोजन गरेको छ । फागुन मसान्तसम्म २ खर्ब १ अर्ब ७२ करोड रुपैयाँ खर्च भइसकेको छ ।
आन्तरिक ऋणको सावाँ भुक्तानीमा १ खर्ब ३४ अर्ब ४७ करोड र ब्याज भुक्तानीमा ३६ अर्ब ९७ करोड खर्च गरिएको छ । वाह्य ऋणको सावाँ भुक्तानीमा २४ अर्ब ५० करोड र ब्याज भुक्तानीमा ५ अर्ब ७७ करोड खर्च भएको छ । यसरी सावाँ भुक्तानी १ खर्ब ५८ अर्ब ९८ करोड र ब्याज भुक्तानी ४२ अर्ब ७४ करोड बराबर भएको छ ।
बढ्दो ऋण र उचित खर्च व्यवस्थापन नहुनु मुख्य चिन्ता
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस