राष्ट्रिय युवा संघ नेपाल, काठमाडौं महानगर कमिटीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कानूनी कारबाहीको माग गरेको छ। संघले एक प्रेस विज्ञप्ति जारी गर्दै, मेयर शाहले कर्मचारीहरूको तलब रोकिएको विषयलाई लिएर दिएको "टुकुचामा गाड्छु" भन्ने अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको आरोप लगाएको छ।
संघका अध्यक्ष दिपेश सुधाकरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ कि "देशमा विखण्डनकारी शक्ति र तानाशाही प्रवृत्तिहरू मौलाइरहेका बेला मेयर शाहले सामाजिक सञ्जालमा सस्तो लोकप्रियता कमाउने उद्देश्यले स्तरहीन अभिव्यक्ति दिइरहेका छन्।" संघले सिंहदरबारमा आगो लगाउने र टुकुचामा गाड्ने जस्ता अभिव्यक्ति आपत्तिजनक भएको दाबी गर्दै, सम्बन्धित निकायलाई कानूनी कारबाहीका लागि जोडदार माग राखेको छ।
संघले मेयर शाहलाई आफ्नो पदीय जिम्मेवारीलाई गम्भीर रूपमा लिन आग्रह गर्दै, सामाजिक सञ्जालमा सनसनीपूर्ण अभिव्यक्ति नदिन चेतावनी दिएको छ। साथै, संघले काठमाडौं महानगरपालिकामा देखिएको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको असफलता तथा कर्मचारीहरूको तलब रोकिएको अवस्थालाई मेयर शाहको असक्षमता भन्दै आलोचना गरेको छ।
संघले अन्त्यमा, मेयर शाहलाई कानूनी कठघरामा उभ्याउनुपर्ने माग गर्दै, सरोकारवाला निकायहरूलाई आवश्यक कदम चाल्न आग्रह गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस