Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय प्रतिबद्धता: ३० हजार मेगावाट लक्ष्य, भारत–बङ्गलादेशसँग विद्युत व्यापार विस्तार

अर्थ संसार

बुधबार, ०२ बैशाख २०८३, ०८ : २९ मा प्रकाशित

राष्ट्रिय प्रतिबद्धता: ३० हजार मेगावाट लक्ष्य, भारत–बङ्गलादेशसँग विद्युत व्यापार विस्तार

सरकारले सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदामा ऊर्जा क्षेत्रलाई दीर्घकालीन आर्थिक समृद्धिको मेरुदण्डका रूपमा अघि सारिएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय मान्यता प्राप्त ६ दलका घोषणापत्र र प्रतिबद्धताहरू समेटेर तयार गरिएको यस दस्तावेजले विद्युत् उत्पादन, उपयोग र निर्यातमार्फत नेपाललाई ऊर्जा सम्पन्न राष्ट्र बनाउने लक्ष्य लिएको छ।

३० हजार मेगावाट उत्पादन लक्ष्य
आगामी दशकभित्र ३०,००० मेगावाट विद्युत् उत्पादन गर्ने महत्त्वाकांक्षी लक्ष्य राखिएको छ। यसका लागि भूमि, वन तथा वातावरणसँग सम्बन्धित कानुन परिमार्जन गर्दै ऊर्जा परियोजना कार्यान्वयनलाई सहज बनाइनेछ।

ठूला जलाशययुक्त आयोजना प्राथमिकतामा
बुढीगण्डकी र दुधकोशीजस्ता जलाशययुक्त तथा अर्ध–जलाशययुक्त ठूला आयोजना निर्माणलाई प्राथमिकता दिइनेछ। यस्ता परियोजनामा सरकारबाट भायाबिलिटी ग्याप फण्डिङको व्यवस्था गरिनेछ, जसले ठूला लगानी आकर्षित गर्ने अपेक्षा गरिएको छ।

ऊर्जा–आधारित उद्योग विस्तार
विद्युत् उत्पादनसँगै यसको खपत बढाउन ऊर्जा–आधारित उद्योगहरूलाई विशेष प्रोत्साहन दिइनेछ। स्टील, सिमेन्ट, जडीबुटी प्रशोधन, डाटा सेन्टर र रासायनिक मल उद्योग स्थापना र विस्तारमा जोड दिइनेछ।

प्रसारण, वितरण र निजी क्षेत्र सहभागिता
विद्युत् उत्पादन मात्र होइन, प्रसारण, भण्डारण र वितरण प्रणालीमा पनि निजी क्षेत्रको सहभागिता बढाइनेछ। उद्योगसम्म प्रसारण लाइन विस्तार गर्ने जिम्मा सरकार आफैंले लिने व्यवस्था गरिनेछ, जसले आन्तरिक विद्युत् खपत वृद्धि गर्नेछ।

ऊर्जा पूर्वाधार र समन्वय
ऊर्जा विकासका लागि एकीकृत योजना तर्जुमा गर्दै सार्वजनिक–निजी साझेदारीमा परियोजना सञ्चालन गरिनेछ। आन्तरिक तथा अन्तरदेशीय प्रसारण लाइनहरू समयमै सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

ऊर्जा कूटनीति र निर्यात विस्तार
ऊर्जा कूटनीतिमार्फत भारत र बङ्गलादेशसँग विद्युत् व्यापार विस्तार गरिनेछ। नेपाललाई दक्षिण एशियाको स्वच्छ ऊर्जा निर्यातक मुलुकका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

हरित ऊर्जा र नयाँ प्रविधि
जलविद्युत् बाहेक ग्रीन हाइड्रोजन उत्पादन र रेअर अर्थजस्ता रणनीतिक स्रोतको अन्वेषणलाई प्राथमिकता दिइनेछ। हरित ऊर्जा प्रयोग र निर्यातमा जोड दिँदै नेपाललाई ऊर्जा–मैत्री राष्ट्रका रूपमा स्थापित गर्ने योजना अघि सारिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको