Like us!
Follow us!
Connect us!
Watch us!

राप्रपा अध्यक्ष लिङ्देनको प्रधानमन्त्रीसँग भेट, पाँच प्रमुख मुद्दामा सरकारको ध्यानाकर्षण

अर्थ संसार

शुक्रबार, ०१ साउन २०८३, ०६ : ५९ मा प्रकाशित

राप्रपा अध्यक्ष लिङ्देनको प्रधानमन्त्रीसँग भेट, पाँच प्रमुख मुद्दामा सरकारको ध्यानाकर्षण

प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री शाहको सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्था तथा आपसी हितका विविध विषयमा छलफल भएको छ।

भेटमा राप्रपा अध्यक्ष लिङ्देनसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य खुस्बु ओली पनि सहभागी थिए।

भेटपछि अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत छलफलका प्रमुख विषय सार्वजनिक गर्दै जनजीविकासँग प्रत्यक्ष जोडिएका विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको जानकारी दिएका छन्।

उनका अनुसार स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत निजी अस्पतालमा उपचार सेवा स्थगित गरिँदा विपन्न तथा तल्लो आय भएका नागरिकले भोग्नुपरेको सास्तीबारे छलफल भएको थियो। स्वास्थ्य बिमा सेवाको प्रभावकारी कार्यान्वयन र सर्वसाधारणको उपचारमा सहज पहुँच सुनिश्चित गर्नुपर्ने विषय उठाइएको उनले उल्लेख गरेका छन्।

त्यसैगरी, रासायनिक मलको अभाव तथा उपलब्ध मलको अव्यवस्थित वितरण प्रणालीबारे पनि प्रधानमन्त्रीसँग छलफल भएको लिङ्देनले बताएका छन्। किसानले समयमै मल नपाउँदा कृषि उत्पादनमा परेको असरप्रति सरकार गम्भीर हुनुपर्ने उनको धारणा रहेको छ।

भेटवार्तामा सुकुम्बासी समस्या, विशेषगरी होल्डिङ सेन्टरमा रहेका अशक्त, अपाङ्ग, बिरामी तथा बालबालिकाको उपचार र शिक्षाको अधिकार सुनिश्चित गर्ने विषयमा समेत कुराकानी भएको जनाइएको छ।

यस्तै, शिक्षा, स्वास्थ्य र विद्युत क्षेत्रमा लगाइएको कर, त्यसले सर्वसाधारण र निजी क्षेत्रमाथि पारेको प्रभाव तथा संविधान संशोधनको आवश्यकता लगायतका समसामयिक विषयमा पनि दुई नेताबीच विचार आदानप्रदान भएको लिङ्देनले जानकारी दिएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको