टेस्ला इंक का प्रमुख इलोन मस्कको सम्पत्ति नोभेम्बर यता पहिलो पटक ३०० अर्ब डलरभन्दा तल झरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेका नयाँ ट्यारिफहरूको असरले मस्कजस्ता उनका नजिकका व्यापारीहरूलाई पनि नराम्ररी प्रभावित पारेको छ।
ब्लूमबर्ग बिलिनियर इन्डेक्स अनुसार, सोमबार मात्रै मस्कले ४.४ अर्ब डलर गुमाएपछि उनको कुल सम्पत्ति २९७.८ अर्ब डलरमा झर्यो। यसअघि बिहीबार र शुक्रबार गरेर उनले ३१ अर्ब डलरको घाटा व्यहोरेका थिए। यो वर्षमात्रै मस्कले १३४.७ अर्ब डलर गुमाइसकेका छन्।
सोमबार मस्क संसारका सबैभन्दा धेरै घाटा व्यहोर्ने छैटौं धनी व्यक्ति बने। सो दिन ब्लूमबर्गको ५०० अर्बपति समेटिएको सूचीमा कुल २७१ अर्ब डलरको गिरावट आयो, जुन तेस्रो सबैभन्दा खराब दिन हो।
टेस्लाका सेयरहरू ट्रम्प निर्वाचित भएपछि उच्च विन्दुमा पुगेका थिए, जसका कारण मस्कको सम्पत्ति इतिहासकै उच्च बिन्दुमा पुगेको थियो। तर त्यसयता ट्रम्पका सल्लाहकारका रूपमा उनको भूमिका, विवादास्पद अभिव्यक्ति र सामाजिक सञ्जालमा क्रियाशीलताले टेस्ला कम्पनीको ब्रान्डमा नकारात्मक असर पार्दै लगेको छ।
टेस्लाका हालका तथा सम्भावित ग्राहकहरू मस्कको राजनीतिक र व्यक्तिगत व्यवहारबाट प्रभावित हुँदै टाढा हुन थालेका छन्। यसको असर कम्पनीको सेयरमा स्पष्ट देखिएको छ। डिसेम्बरको उच्च विन्दु यता टेस्लाको सेयर मूल्य ५० प्रतिशतभन्दा बढीले घटिसकेको छ।
गत हप्ताको अन्तमा मस्कले अमेरिका र युरोपबीच ‘शून्य ट्यारिफ’ प्रणाली कायम गरी स्वतन्त्र व्यापार क्षेत्र बनाउने आशा व्यक्त गरेका थिए। उनका भाइ तथा टेस्लाका बोर्ड सदस्य किम्बल मस्क ले सोमबार नयाँ ट्यारिफलाई "अमेरिकी उपभोक्तामा स्थायी संरचनागत कर" भनेर आलोचना गरेका छन्।
किम्बलले एक्स (पूर्व ट्विटर) मा लेख्दै भनेका छन्, "ट्यारिफमार्फत रोजगारी फर्काउने लक्ष्य सफल भए पनि उपभोग मूल्य उच्च नै रहनेछ किनभने हामी हरेक वस्तु उत्पादन गर्न त्यति दक्ष छैनौं।"
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस