टेस्ला र स्पेसएक्सका सिइओ एलन मस्कले मंगल ग्रहमा मानव बस्ती बसाउने आफ्नो महत्त्वाकांक्षा फेरि एकपटक दोहोर्याएका छन्।
हालै एक्स (पहिलेको ट्विटर) प्रयोगकर्ता मास्सिमो @Rainmaker1973 ले एउटा पोस्ट शेयर गरे, जसमा सन् १९०३ मा राइट दाजुभाइको पहिलो सफल उडान र सन् १९६९ मा अपोलो ११ को चन्द्रमा अवतरण बीचको ६६ वर्षको अन्तर दर्शाइएको थियो। उक्त पोस्टमा प्रतिक्रिया जनाउँदै मस्कले लेखे, “सिर्फ ६६ वर्षमै पहिलो उडानदेखि चन्द्रमामा अवतरणसम्म पुगियो। तर अहिले ७६ वर्ष भइसक्दा पनि हामी चन्द्रमामा फर्कन सकेका छैनौं।”
मस्कले निराशा व्यक्त गर्दै थपे, "हामी अहिले सम्म त मंगल ग्रहमा पुगिसकेको हुनु पर्ने हो।" स्पेसएक्सले 'स्टारशिप' को पुनःप्रयोग गर्न मिल्ने यातायात प्रणालीमार्फत मंगल उपनिवेशको योजना बनाएपनि, विभिन्न प्राविधिक चुनौतीहरू अझै बाँकी छन्। मार्च ६ मा सम्पन्न आठौं परीक्षण उडानका क्रममा स्टारशिप विस्फोट भएको थियो।
रोचक कुरा के छ भने, एलन मस्कले सन् २०२९ भित्र मंगल ग्रहमा बस्ती बसाउने लक्ष्य राखेका छन्।
Only 66 years from first flight to landing on the Moon in 1969.
— Elon Musk (@elonmusk) April 23, 2025
Here we are, 76 years later cannot yet return to the Moon. We should have been on Mars by now. https://t.co/Oo3DhxLrAl
त्यस्तै, हालसालै एलन मस्कले मंगल ग्रहमा बन्ने पहिलो सहरको नाम 'Terminus' राख्न प्रस्ताव गरेका छन्। उनले भनेका छन्, “यो नाम आइज्याक असिमोभको प्रसिद्ध विज्ञान कथात्मक कृति 'Foundation' बाट प्रेरित गरिएको हो।” मस्कका अनुसार, अन्ततः मंगल ग्रहका बासिन्दाले नै आफ्नो सहरको नाम छान्ने अधिकार पाउनेछन्।
अर्काे समाचार अनुसार, एलन मस्कको कृत्रिम बुद्धिमत्ता कम्पनी xAI Holdings लगानीकर्ताहरूसँग करिब २० अर्ब डलर जुटाउने छलफलमा रहेको छ। ब्लुम्बर्गको रिपोर्टअनुसार, सम्भावित लगानीपछि कम्पनीको मूल्यांकन १२० अर्ब डलरभन्दा बढी पुग्नेछ। उल्लेखनीय छ, xAI ले हालै एक्स (पूर्व ट्विटर) किन्न सफल भएको थियो, जसको मूल्यांकन ३३ अर्ब डलर गरिएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस