अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार एलन मस्कले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै आफूलाई ‘बुद्ध’ सँग तुलना गर्दै भने, “बौद्ध धर्मका लागि बुद्ध अनिवार्य थिए र छन् त?”
DOGE अर्थात् Department of Government Efficiency को नेतृत्वबाट आफू बाहिरिए पनि संघीय सरकारको खर्च कटौती गर्ने अभियान यथावत् रुपमा अघि बढ्ने उनले स्पष्ट पारे। “बुद्धको निधनपछि बौद्ध धर्म अझ फैलिएको होइन र?” मस्कले थपे। “DOGE पनि त्यस्तै हो — यो त जीवनशैली हो, धर्म जस्तै,” उनले भने।
पत्रकारहरूले उनलाई सोधे — के तपाईं अझै पनि राष्ट्रपति ट्रम्पका वरिष्ठ सल्लाहकार रहने हो?
“शायद,” उनले हाँस्दै जवाफ दिए। राष्ट्रपति ट्रम्पको कार्यकालको १०० औं दिनको सन्दर्भमा गरिएको छलफलका क्रममा मस्कले आफ्नो भुमिकाबारे खुलस्त धारणा राखे।
DOGE विभागले सन् २०२६ को जुलाईसम्म आफ्नो कार्य सम्पन्न गर्ने लक्ष्य राखेको थियो। सो विषयमा सोध्दा उनले भने, “राष्ट्रपतिले भनेअनुसार नै मिति कायम हुनेछ।”
विभागमा कार्यरत झण्डै १०० कर्मचारीमध्ये कति रहन्छन् भन्ने प्रश्नमा मस्कले भने, “केही रहन्छन्, केही रहँदैनन् — यो उनीहरूको रोजाइमा भर पर्छ। DOGE त स्वयंसेवी संस्था जस्तै हो।”
“हैन, म त भन्छु यो अझ तीव्र गतिमा अघि बढ्नेछ,” मस्कले भने।
मे ३० पछि विशेष सरकारी कर्मचारीको भूमिका सकिएपछि पनि आफू सरकारलाई समर्थन गर्न तयार रहेको मस्कले बताए। “म एक हप्ता १–२ दिन समय दिन सक्नेछु, जसको अर्थ प्रत्येक दुई हप्तामा ३ दिनजति डीसी आउन सक्छु,” New York Post ले मस्कलाई उद्धृत गर्दै लेखेको छ।
“राष्ट्रपति वा मन्त्रिपरिषद्ले कुनै आपतकालीन सल्लाह मागे भने, म तुरुन्तै उपलब्ध हुनेछु,” उनले थपे।
DOGE ले एक ट्रिलियन डलर खर्च कटौती गर्ने लक्ष्य राखेको भए पनि हालसम्म १६० अर्ब डलर मात्र कटौती भएको मस्कको भनाइ छ। उनले स्वीकार गरे — बाँकी लक्ष्य हासिल गर्नु चुनौतीपूर्ण हुनेछ।
DOGE को भविष्य र आफूले नेतृत्व गरेका कामबारे अस्पष्ट जवाफ दिँदै मस्कले पछिल्ला समय देखिएको आलोचना र विरोधप्रति आक्रोश पोखे।
“निरन्तर आलोचना खेप्नु रमाइलो होइन,” मस्कले भने, “टेस्ला गाडी जलिरहेको हेर्नु त झन् पीडादायक हुन्छ।”
तर, समग्रतामा आफूहरूले केही प्रगति गरेको पनि मस्कले माने। “जति प्रभावकारी चाहिएको थियो, त्यति हुन सकेन। अझ राम्रो गर्न सकिन्थ्यो,” उनले भने।
एजेन्सीको सहयोगमा
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस