सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि राजनीतिक वृत्तमा प्रतिक्रिया आउने क्रम जारी रहेको छ। यसबीच प्रगतिशील लोकतान्त्रिक पार्टीका संस्थापक नेता जनार्दन शर्माले सम्पत्ति छानबिनको पक्षमा आफू दृढ रहेको तर तथ्यहीन प्रचार र मिडिया ट्रायलको विरोध गरेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शर्माले सम्पत्ति छानबिन हुनुपर्ने विषय आफूले यसअघि संसद् र पार्टीभित्र पनि उठाएको स्मरण गराएका छन्। उनले अहिले पनि सो विषयमा आफ्नो अडान यथावत रहेको उल्लेख गरेका छन्।
"सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा पनि विषय उठाएको हुँ। त्यसमा म अहिले पनि अडिग छु," शर्माले लेखेका छन्।
तर कुनै व्यक्ति वा घटनासँग प्रत्यक्ष सरोकार नै नभएको विषयलाई जोडेर भ्रम सिर्जना गर्ने उद्देश्यले सञ्चार माध्यममा गरिने प्रचारप्रति आफू दुःखी भएको उनको भनाइ छ। उनले तथ्य र प्रमाणभन्दा बाहिर गएर गरिने 'मिडिया ट्रायल' ले न्यायिक प्रक्रिया र सार्वजनिक बहस दुवैलाई प्रभावित पार्न सक्ने संकेत गरेका छन्।
विष्णु पौडेल पक्राउ प्रकरणमा विभिन्न राजनीतिक दलका नेताहरूले फरक–फरक धारणा सार्वजनिक गरिरहेका बेला शर्माको अभिव्यक्तिलाई अनुसन्धानको पक्षमा रहेको तर पूर्वनिष्कर्ष र प्रचारमुखी अभियानप्रति सावधानी अपनाउनुपर्ने सन्देशका रूपमा हेरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस