डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रा.लि. र सिटिजन्स क्यापिटल लिमिटेडबीच संस्थागत परामर्श सम्बन्धी सम्झौता भएको छ। सम्झौतापछि डोलेश्वर रिसोर्टलाई सार्वजनिक कम्पनीमा रूपान्तरण गर्न तथा आगामी दिनमा प्राथमिक सेयर निष्कासन (IPO) को प्रक्रिया अघि बढाउन सिटिजन्स क्यापिटलले परामर्श सेवा दिनेछ।
सम्झौतापत्रमा डोलेश्वर भिलेज रिसोर्टका अध्यक्ष श्री रामनाथ मैनाली र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्री सबिर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो।
सन् २०१९ (वि.सं. २०७६) देखि व्यवसाय सञ्चालनमा आएको डोलेश्वर भिलेज रिसोर्ट भक्तपुरको डोलेश्वर क्षेत्रमा करिब १० रोपनी क्षेत्रफलमा फैलिएको छ। हाल रिसोर्टमा १५ वटा कोठा सञ्चालनमा छन् भने थप २० वटा कोठा र स्वीमिङ पुल निर्माणको काम अन्तिम चरणमा पुगेको र यस आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको रिसोर्टले जनाएको छ।
रिसोर्टमा ३०० जनासम्मको क्षमता भएका तीनवटा सभा हलहरू छन्, जसले विवाह, ब्रतबन्ध, गोष्ठी, सेमिनार, पिकनिक लगायत विभिन्न कार्यक्रम आयोजना गर्न उपयुक्त स्थान प्रदान गर्छ। आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न सफल यस रिसोर्टबाट प्रसिद्ध धार्मिक स्थल डोलेश्वर महादेव मन्दिर केवल २०० मिटर टाढा रहेको छ।
सिटिजन्स क्यापिटलले कम्पनी रूपान्तरणदेखि लिएर नियामक निकायबाट स्वीकृति प्रक्रिया, IPO योजना निर्माण, र आवश्यक वित्तीय तथा प्राविधिक तयारी कार्यसमेतको जिम्मेवारी लिने बताइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस