कृषक तथा उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाहका लागि स्याङ्जामा रहेका बैंकहरुले सहजीकरण गर्ने भएका छन् । कृषकहरुले सहजरुपमा कृषि कर्जा नपाएको गुनासो गरे पछि बैङ्कहरुले सहजीकरण गर्ने र कर्जा उपलव्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।
वालिङ र गल्याङ नगरपालिका तथा कालीगण्डकी गाउँपालिकाका जनप्रतिनिधि तथा कृषकहरुसँगको छलफल पछि बैङ्कका प्रतिनिधिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
वालिङमा भएको कार्यक्रममा गरिमा बिकास बैङ्कका क्षेत्रिय प्रमुख लेखनाथ भट्टराईले सहज रुपमा कर्जा पाउने तरिकाका बारेमा कृषकहरुमा जानकारी कम रहेको बताउनु भयो । उहाँले भन्नुभयो,“ऋण बारेको जानकारी अभाव भएका कारण कृषकलाई कुरा बुझाउनै सकिएको छैन ।” वित्तिय साक्षरता दिनका लागि पालिकाहरुसँग सहकार्य गर्ने उहाँको भनाई छ ।
कृषि विकास बैङ्क वालिङका प्रमुख यमप्रसाद आचार्यले वास्तविक कृषकलाई ऋण प्रवाह गर्न आफूहरु प्रतिबद्ध रहेको बताउनु भयो । बैङ्कको कुल लगानीको २५ प्रतिशत कर्जा कृषिमा लगानी गरिदै आएको उहाँको भनाई छ ।
नेपाल बैङ्क वालिङका प्रमुख दर्शना भट्टराईले ऋण एक शिर्षकमा लिने र खर्च अर्काे शिर्षकमा गर्ने क्रम बढेको बताउनु भयो । उहाँले भन्नुभयो,“ऋण लिएर कृषि कर्म गर्नहरुको लागि हामीले सहयोग गर्छौ ।”
कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रे, गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने र कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले कृषकहरुका लागि सहुलियत कर्जा प्रदान गर्न पालिकाले सहकार्य गर्ने जानकारी गराउनु भयो । सस्तो व्याज दर र बिना धितो थोरै कर्जाले
ठूलो काम हुने भन्दै उहाँहरुले बैङ्कहरुले सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।
वालिङका उपप्रमुख तिवारीले एनएम्बी खेती कर्जा अन्तर्गत बिना धितो रु २ लाख सम्म कर्जा प्रवाह गर्न सुरु गरिएको जानकारी दिनुभयो । बिना धितो गाउँगाउँमा प्रवाह गरिने कर्जाले उत्पादन बढाउन सहयोग पुग्ने उहाँको भनाई छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस