पूर्व अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटले केही सकारात्मक नीतिहरू समेटे पनि सारमा पुनरावलोकन आवश्यक रहेको बताएका छन्।
नाफिजद्वारा आयोजित पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले निजी क्षेत्र र बैंकिङ प्रणालीको वर्तमान अवस्थालाई गम्भीर रूपमा बुझ्न सरकारलाई सुझाव दिए।
उनले व्यवसायी र बैंकर्सप्रति आफू प्रतिकूल नरहेको प्रष्ट पार्दै भने, 'पछिल्लो समय निजी क्षेत्रको विषय उठाउँदा सरकारविरुद्ध बोलेको आरोप लाग्ने स्थिति छ, जुन अस्वाभाविक हो।' हाल बैंकबाट ऋण लिन सक्ने अवस्था नरहेको उल्लेख गर्दै उनले सरकार यसतर्फ गम्भीर हुनुपर्ने बताए।
शर्माका अनुसार निजी क्षेत्र मुलुकको आर्थिक संरचनाको महत्वपूर्ण हिस्सा हो र बजेटले त्यसलाई सम्बोधन गर्नु सकारात्मक संकेत हो। तर उनले बजेटमा देखिएका केही नीतिगत पक्षहरू राम्रो भए पनि त्यसको प्रभावकारिता र व्यवहारिकता परीक्षण गर्नुपर्ने धारणा राखे।
उनले देशको वर्तमान आयात–निर्यात सन्तुलनप्रति चिन्ता व्यक्त गरे। 'निर्यातभन्दा १० गुणा बढी आयात भएको अवस्थामा आर्थिक सन्तुलन कायम गर्न विशेष ध्यान दिनुपर्ने हुन्छ,' उनले भने। साथै, बजेटको खर्च संरचना गुणात्मक नदेखिएको बताउँदै आर्थिक वृद्धिमा त्यसले प्रतिफल नदिने जिकिर गरे।
नेपालमा फलाम उद्योगको संख्या ३७ पुगेको सन्दर्भ उठाउँदै उनले कच्चा पदार्थको आपूर्ति, प्रशोधन संयन्त्र र औद्योगिक नीति स्पष्ट हुनु आवश्यक रहेको उल्लेख गरे। निजी क्षेत्र उत्पादनमुखी बन्ने वातावरण बनाउनु अहिलेको आवश्यकता भएको उनले बताए।
कृषि क्षेत्रमा आधुनिकीकरण, औजार निर्माण, किसानसँग जोडिएको औद्योगिक नीति र बजार व्यवस्थापनको अभाव रहेको उनको आरोप थियो। 'कृषिमा आधारित नीति र कार्यक्रमबिना आर्थिक विकासको कल्पना गर्न सकिँदैन,' शर्माले भने।
उनले चालु आर्थिक वर्षमा लगभग १५ खर्ब रुपैयाँ खर्च हुने देखिए पनि त्यसको गुणात्मक उपयोग नहुँदा आर्थिक वृद्धिदरमा खास असर नपर्ने चेतावनी दिए। हालसम्म ९१ अर्ब मात्र विकास खर्च भएको उल्लेख गर्दै उनले खर्चको गुणस्तर सुधार्न सरकारलाई आग्रह गरे।
अन्त्यमा, शर्माले कृषिपछि पर्यटन र जलविद्युत् नेपालका विकासका मुख्य आधार भएको उल्लेख गरे। 'बिजुली र मानिस बेचेर मात्र देश चल्दैन, दीर्घकालीन योजना आवश्यक छ,' उनले प्रस्ट पारे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस