भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल अनिल चौहानले गत मे महिनामा भारत र पाकिस्तानबीच भएको सैन्य तनावका क्रममा भारतीय लडाकु विमान खसालिएको भन्ने विषयमा प्रतिक्रिया दिएका छन्।
शनिबार सिंगापुरमा सञ्चालित सांग्रिला संवाद कार्यक्रममा सहभागी जनरल चौहानलाई ब्लूमबर्ग टेलिभिजन का पत्रकारले पाकिस्तानले खसालेको भनिएका भारतीय लडाकु विमानबारे प्रश्न गरेका थिए।
जवाफमा जनरल चौहानले भने, “मलाई लाग्छ, जरुरी कुरा यो होइन कि जेट खसालिए, बरु किन खसालिए भन्ने हो।”
ब्लूमबर्गले सार्वजनिक गरेको १ मिनेट ५ सेकेन्ड लामो भिडियो क्लिपमा उनलाई “के भारतको कुनै लडाकु विमान खसेको हो?” भनेर सोधिएको छ। जवाफमा उनले सिधा पुष्टि नगरे पनि पाकिस्तानको दाबी गलत भएको संकेत गरे।
पत्रकारले पुनः प्रश्न गर्दै “कम्तीमा एउटा विमान त खसेको हो?” भनेर स्पष्टता खोजेपछि चौहानले भने, “हामीले आफ्ना रणनीतिक कमजोरी पत्ता लगायौं, त्यसलाई दुई दिनभित्रै सच्यायौं र लामो दूरीका लक्ष्यहरूमा आक्रमण सफलतापूर्वक गर्यौं।”
पाकिस्तानले ६ वटा भारतीय लडाकु विमान खसालेको दाबीबारे प्रश्न गर्दा जनरल चौहानले त्यसलाई “बिल्कुल गलत” भने। तर, उनले यो पनि स्पष्ट गरे कि “हामीका लागि महत्वपूर्ण कुरा कति विमान खस्यो होइन, किन खस्यो र त्यसपछि हामीले के गर्यौं भन्ने हो।”
यस विषयमा भारतले आधिकारिक रूपमा अझै स्पष्ट विवरण सार्वजनिक गरेको छैन। यद्यपि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले मे ७ मा संसदलाई जानकारी दिँदै “५ भारतीय लडाकु विमान खसालेको” दाबी गरेका थिए, जसमा ३ वटा अत्याधुनिक राफेल विमानसमेत रहेको बताइएको थियो।
त्यसबेलाको प्रेस सम्मेलनमा भारतीय वायु सेनाका एयर मार्शल ए.के. भारतीले भनेका थिए, “हामी युद्धको अवस्थामा छौं, क्षति हुनु त्यसको एक हिस्सा हो।”
युद्धको स्थिति र रणनीतिक चुपचापबीच दुबै देशले आफ्नो पक्षलाई समर्थन गर्ने दावी गरे पनि हालसम्म युद्धको विस्तृत तथ्यांक सार्वजनिक गरिएको छैन।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस