अपि पावर लिमिटेडको सहायक कम्पनी दार्चुला पावर लिमिटेडले आयोजना गरेको २८.३ मेगावाट क्षमताको मध्यम चमेलिया जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता कार्यक्रममा अष्ट्रिया स्थित गेपर्ट ग्रुपका सीईओ तथा संचालक गुन्ट्राम गेपर्टले नेपालमा स्वच्छ र दिगो ऊर्जाको प्रवर्द्धनमा समूहको दीर्घकालीन प्रतिबद्धता दोहोर्याएका छन्।
गुन्ट्राम गेपर्टले सम्बोधन गर्दै भने, “दार्चुला पावर लिमिटेडको बोर्डले हामीमाथि गरेको विश्वासप्रति आभार व्यक्त गर्दछु। उहाँहरूको नेतृत्वमा हामीले यसअघि ४० मेगावाटको अपर चमेलिया जलविद्युत् आयोजना र ९.७ मेगावाटको इङ्वा खोला आयोजना सफलतापूर्वक सम्पन्न गरेका छौं।”
उनले थपे, “२०२३ मा गेपर्ट समूहको एक सहायक कम्पनीले केही आर्थिक चुनौती खेप्नु परेको थियो। त्यसलाई पार गर्दै हामीले नेपालमा पुनः सशक्त रूपमा काम थालनी गरेका छौं। नेपाली जलविद्युत् विकासकर्ताहरूको निरन्तर समर्थनप्रति हामी आभारी छौं।”
Geppert Hydro India Pvt. Ltd. का निर्देशक अमरजीत सिंह मखिजाले कम्पनीले नेपालमा हालसम्म १४४ मेगावाट जलविद्युत् आयोजना सफलतापूर्वक सञ्चालनमा ल्याइसकेको र थप ७६ मेगावाट निर्माणाधीन रहेको जानकारी दिए। उनले हालै सम्पन्न भएका ६ मेगावाटको सुपर हेवा र ४.७२ मेगावाटको अपर पिलुवा–२ आयोजना नेपालको हरित ऊर्जा लक्ष्यतर्फको प्रगतिको संकेत भएको बताए।
मखिजाले भने, “हामीले एईपीसी र एडीबीको सहकार्यमा जुम्ला जिल्लामा विकास गरिएको ९९८ किलोवाटको चुकेनी खोला आयोजनालाई सञ्चालनमा ल्याएका छौं, जुन दुर्गम क्षेत्रमा दिगो ऊर्जाको पहुँच पुर्याउने हाम्रो प्रतिबद्धताको प्रतीक हो।”
गेपर्ट नेपालका कन्ट्री डाइरेक्टर राजकिशोर यादवले कम्पनीको नेपालस्थित कार्यालय सन् २०२२ देखि पानीपोखरी, काठमाडौंमा सञ्चालनमा रहेको बताए। उनले अनुभवी इन्जिनियरहरूको समूहमार्फत परियोजना मरम्मत, स्पेयर पार्ट्स आपूर्ति, प्राविधिक सेवा तथा दीर्घकालीन भरपर्दो व्यवस्थापन प्रदान गरिरहेको जानकारी दिए।
कार्यक्रमको समापनमा गुन्ट्राम गेपर्टले भने, “हामी नेपालमा स्वच्छ ऊर्जा प्रवर्द्धन, स्थानीय विकास र सहकार्यलाई निरन्तर अघि बढाउनेछौं। 'Empowering Everyone Everywhere' भन्ने हाम्रो मूल उद्देश्यलाई साथ दिँदै हामी सबल साझेदारीका साथ अघि बढ्नेछौं।”
बुधबार साँझ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा नेपाल बैंकको अगुवाईमा आज वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको हो ।आयोजनामा नेपाल बैंक र नबिल बैंकले लगानी रहने छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस