अपि पावर कम्पनी लिमिटेडले आफ्नै कर्पोरेट कार्यालय भवन निर्माण गर्ने घोषणा गरेको छ। नेपालको नवीकरणीय उर्जा विकासमा दुई दशकभन्दा लामो योगदान दिँदै आएको यो कम्पनीले अब आफ्नै स्वामित्वमा “अपि टावर” नामक भवन निर्माणको कार्य प्रारम्भ गरेको हो।
कम्पनीका अध्यक्ष श्रीमती सिर्जना खड्काले २०८२ साल कात्तिक २१ गते आयोजित विशेष कार्यक्रममा सञ्चालक समितिका सम्पूर्ण सदस्यहरूको उपस्थितिमा भवनको शिलान्यास गर्नुभयो। भवन निर्माणका लागि कम्पनीले काठमाडौंको प्रमुख व्यावसायिक क्षेत्र नयाँबानेश्वरमा करिब २० आना जग्गा खरिद गरेको हो। कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेका अनुसार यो भवन केवल प्रशासनिक संरचना मात्र नभई कम्पनीका सेयरधनी र सहायक कम्पनीहरूको साझा सम्पत्ति हुनेछ। उहाँका भनाइमा, “अपि टावर कम्पनीको भविष्यप्रति लगानीकर्ताको विश्वास अझ सुदृढ पार्ने एउटा महत्वपूर्ण माइलस्टोन बन्नेछ।” कम्पनीले उक्त भवन दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ।
अपि पावर कम्पनी लिमिटेडले विगत २२ वर्षदेखि नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। कम्पनीले ऊर्जा उत्पादनका विविध क्षेत्र—जलविद्युतदेखि सौर्य उर्जासम्म—मा दक्षता र पारदर्शिताको आधारमा आफ्ना परियोजनाहरू सञ्चालन गर्दै आएको छ। व्यवसायिक दृष्टिले यसको सफलता परियोजना पहिचान, रणनीतिक विकास, समयमै परियोजना सम्पन्नता र वित्तीय व्यवस्थापनमा आधारित रहँदै आएको छ, जसले कम्पनीलाई देशकै अग्रणी सार्वजनिक ऊर्जा विकासकर्ताको रूपमा स्थापित गरेको छ।
कम्पनीले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजना केवल १७ महिनामा निर्माण सम्पन्न गरी २०७२ भाद्र महिनादेखि व्यवसायिक उत्पादनमा ल्याएको थियो। यस आयोजनाले तत्कालीन अवस्थामा विद्युत अभावमा रहेका दुर्गम बस्तीहरूमा बिजुली पुर्याउँदै दक्षता र द्रुत परियोजना कार्यान्वयनको मापदण्ड स्थापित गरेको थियो। यसपछि कम्पनीले थप ८ मेगावाट क्षमताको अप्पर नौगड गाढ र ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी कुल ५६.५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जडान गरी नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्दै आएको छ।
कम्पनीले नेपाल सरकारको ऊर्जा मिश्रण नीतिलाई अनुसरण गर्दै सौर्य उर्जा तर्फ पनि उल्लेखनीय विस्तार गरेको छ। कम्पनीले ४ मेगावाट क्षमताको चन्द्रनिगाहपुर, १ मेगावाट क्षमताको ढल्केबर र १ मेगावाट क्षमताको सिमरा सौर्य विद्युत आयोजना निर्माण गरी कुल ६ मेगावाट सौर्य उर्जा उत्पादन गर्दै राष्ट्रिय प्रसारण प्रणालीमा जडान गरेको छ। साथै, बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकामा ८ मेगावाट क्षमताको परवानीपुर सौर्य विद्युत आयोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको कम्पनीले जनाएको छ।
व्यवसाय विस्तारका क्रममा अपि पावर कम्पनीले मुनाफादायी जलविद्युत आयोजनाहरूमा पनि रणनीतिक लगानी गर्दै आएको छ। कम्पनीले इङ्गवा हाइड्रोपावर लिमिटेडमा २५ प्रतिशत स्वामित्वका साथ लगानी गरेको छ। सो कम्पनीद्वारा पाँचथर जिल्लाको याङवरक गाउँपालिकामा निर्माण भएको ९.७ मेगावाट क्षमताको माथिल्लो इङ्गवा खोला जलविद्युत आयोजना सञ्चालनमा छ र यसको विद्युत पनि राष्ट्रिय प्रसारण प्रणालीमा जडान भई बिक्री भइरहेको छ। इङ्गवा हाइड्रोपावर लिमिटेड नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनी हो र यसको सेयर कारोबार दोश्रो बजारमा सक्रिय रूपमा भइरहेको छ।
यस्तै, अपि पावर कम्पनी लिमिटेडले ५९.६७ प्रतिशत संस्थापक सेयर खरिद गरी सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडमा बहुमत स्वामित्व लिएको छ। यस कम्पनीमार्फत नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी उत्पादित विद्युत ने.वि.प्रा.लाई बिक्री भइरहेको छ। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले अब निकट भविष्यमा आफ्नो साधारण सेयर सार्वजनिक निष्कासन (IPO) गर्ने तयारी गर्दै सम्बन्धित नियामक निकायहरूमा आवश्यक स्वीकृतिको अन्तिम चरणमा पुगेको छ।
यसबाहेक, अपि पावर कम्पनीले हाल दार्चुला पावर लिमिटेडमा बहुमत सेयर खरिद गरी दार्चुला जिल्लामा २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ। कम्पनीले यो आयोजना आगामी २० महिनाभित्र निर्माण सम्पन्न गरी व्यवसायिक उत्पादनमा ल्याउने लक्ष्य राखेको छ। त्यस्तै, कम्पनीले नुवाकोट जिल्लामा ३० मेगावाट क्षमताको त्रिशुली गल्छी जलविद्युत आयोजना र दार्चुला जिल्लामा ९.७ मेगावाट क्षमताको न्वागाढ जलविद्युत आयोजनाको प्रारम्भिक सर्वेक्षण कार्य पनि गरिरहेको छ।
अपि पावर कम्पनीले हाल आफ्नो पूर्ण स्वामित्वमा अपि इन्फ्रा लिमिटेड स्थापना गरी ललितपुरको झम्सीखेलमा आवासीय भवन निर्माण परियोजना सञ्चालन गर्दै आएको छ। यसले कम्पनीको व्यवसायिक क्षेत्रलाई ऊर्जा उत्पादनभन्दा पर रियल–इस्टेट र पूर्वाधार विकाससम्म विस्तार गरेको देखिन्छ।
कम्पनीका आयोजनाहरू हेर्दा हालसम्म ५६.५ मेगावाट क्षमताका जलविद्युत आयोजना र ६ मेगावाट क्षमताका सौर्य आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जडान भई सञ्चालनमा रहेका छन्। निर्माणाधीन परवानीपुर सौर्य आयोजना ८ मेगावाट क्षमताको छ। त्यस्तै, कम्पनीको लगानीमा सञ्चालनमा रहेका आयोजनाहरूबाट २०.७ मेगावाट विद्युत उत्पादन भइरहेको छ भने निर्माणाधीन आयोजनाबाट २८.३०४ मेगावाट र सर्वेक्षण चरणमा रहेका आयोजनाहरूबाट करिब ३९.७ मेगावाट विद्युत उत्पादनको सम्भावना रहेको छ।
अपि पावर कम्पनीको व्यवसायिक स्थायित्व, पारदर्शिता र लगानीकर्ताप्रति प्रतिबद्धताले यस कम्पनीलाई नेपालको ऊर्जा बजारमा एक विश्वसनीय नामको रूपमा स्थापित गरेको छ। कम्पनीले विगत दुई दशकभन्दा बढीको समय अवधिमा विभिन्न राजनीतिक र आर्थिक उतारचढावबीच पनि लगानीकर्ताको विश्वास कायम राख्दै निरन्तर प्रगति हासिल गरेको छ। कम्पनीका गतिविधिहरूले सेयरधनीहरूको लगानी सुरक्षित रहोस् र दीर्घकालीन रूपमा मूल्यवृद्धि होस् भन्ने उद्देश्यमा केन्द्रित रहेको स्पष्ट देखिन्छ।
हाल सुरु गरिएको “अपि टावर” निर्माण कार्य कम्पनीको भविष्यप्रतिको दूरदृष्टि र आत्मनिर्भरता तर्फको कदम हो। यो भवन निर्माणपछि कम्पनी र यसको सहायक संस्थाहरू एउटै संरचनाभित्रबाट सेवा सञ्चालन गर्ने छन्। कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेका अनुसार, “यो भवन अपि पावर कम्पनी लिमिटेड र यसका सहायक कम्पनीहरूको साझा सम्पत्ति हो। यसले सेयरधनीहरूको विश्वासलाई थप मजबुत बनाउनेछ र कम्पनीको दीर्घकालीन स्थायित्वमा महत्वपूर्ण योगदान पुर्याउनेछ।”
नेपालका निजी ऊर्जा उत्पादक कम्पनीहरू मध्ये आफ्नै लगानीमा कर्पोरेट कार्यालय भवन निर्माण गर्ने थोरै कम्पनीहरूमध्ये अपि पावर कम्पनी लिमिटेड पनि अब एक बनेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस