अपि पावर कम्पनी लिमिटेडले आफ्नो २२औँ वार्षिक साधारण सभा आगामी पुस २९ गते काठमाडौंमा आयोजना गर्ने भएको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो।
सभा काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा मंगलबार बिहान ११ बजेदेखि सुरु हुनेछ। सभामा कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरी त्यसबारे छलफल तथा अनुमोदन गरिनेछ। सोही अवधिको लेखापरीक्षक प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान विवरण तथा नगद प्रवाहसम्बन्धी वित्तीय विवरणहरू पनि सभामा पेश भई पारित गरिने कम्पनीले जनाएको छ।
साथै चालू आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ सम्मको संचित मुनाफाबाट सेयरधनीलाई कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत सभामा लैजाने भएको छ।
विशेष प्रस्तावअन्तर्गत कम्पनीले चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको आधारमा १ सेयर बराबर ०.३० अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने योजना पनि सभामा प्रस्तुत गरिनेछ। प्रस्तावित हकप्रद सेयरमार्फत संकलन हुने करिब १९१ करोड रुपैयाँ दिव्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन ५० मेगावाट क्षमताको मस्याङ्दी बेसी जलविद्युत आयोजनामा स्वपूँजी लगानीका रूपमा प्रयोग गरिनेछ।
बोनस र हकप्रद सेयर जारी गर्दा कम्पनीको पूँजी संरचनामा हुने वृद्धिलाई समेट्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि विशेष प्रस्तावमा समावेश गरिएको छ। साथै सेयर निष्कासनसम्बन्धी कार्यका लागि विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, कम्पनी रजिष्ट्रार कार्यालय लगायत नियमनकारी निकायसँग आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विषय पनि सभामा छलफल हुनेछ।
यसका अतिरिक्त अपि होल्डिङ्स कम्पनी लिमिटेडमा हालसम्म गरिएको स्वपूँजी लगानी अनुमोदन गर्ने तथा भविष्यमा थप लगानी गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभामा पेश गरिनेछ। कम्पनीका सवारी साधन, स्क्र्याप तथा अन्य सम्पत्ति बिक्री गर्नुपर्ने अवस्था आएमा त्यसका लागि पनि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समावेश गरिएको छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिन सेयर दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ। सो मितिअघि नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम सेयरधनी मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्। सभामा सहभागी हुन सेयरधनीले फोटोसहितको परिचयपत्र तथा हितग्राही खातामा रहेको सेयर विवरण वा सेयर प्रमाणपत्र साथमा ल्याउनुपर्ने कम्पनीले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस