नेपाल धितोपत्र बोर्डले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने अनुमति प्रदान गरेको छ। बोर्डले मंसिर २५ गते बसेको बैठकमार्फत कम्पनीलाई प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले कुल १३ लाख ७९ हजार ३५० कित्ता सेयर जनता समक्ष जारी गर्न मार्ग प्रशस्त गरेको हो। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री व्यवस्थापन कुमारी क्यापिटल लिमिटेडले गर्नेछ।
सूर्यकुण्ड हाइड्रोमा अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी रहेको छ।
यसअघि २०८२ भदौ १५ मा प्रकाशित सूचनाअनुसार, कम्पनीले नुवाकोटको दुप्चेश्वर गाउँपालिकास्थित ११ मेगावाट क्षमताको ‘माथिल्लो तादी खोला जलविद्युत् आयोजना’बाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरिसकेको छ। आयोजनाको निर्माण सम्पन्न गरेपछि कम्पनीले गत असारमा करिब १५ दिनसम्म परीक्षण उत्पादन गरेको थियो।
११ मेगावाट क्षमताको यस आयोजनाबाट वार्षिक ६१.३१९ गिगावाट–घन्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ। वर्षायाममा करिब ५०.८९३ गिगावाट–घन्टा र सुक्खायाममा १०.४२५ गिगावाट–घन्टा ऊर्जा उत्पादन हुने प्रक्षेपण गरिएको छ। स्विचयार्डमार्फत ६ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन हुँदै उत्पादित ऊर्जा नेपाल विद्युत् प्राधिकरणको नुवाकोटस्थित समुन्द्रटार १३२ केभी सबस्टेसनमा प्रवाहित हुँदै आएको छ।
कम्पनीले ऊर्जा मन्त्रालयबाट २०८१ असोज ८ गते वातावरणीय प्रारम्भिक अध्ययन (आईईई) स्वीकृति प्राप्त गरेको थियो। त्यस्तै, विद्युत् विकास विभागबाट २०७२ असोज २२ गते उत्पादन इजाजतपत्र लिएको थियो। आयोजना विकासका प्रारम्भिक चरणमै अर्थात २०६८ चैत ३ गते कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (PPA) गरेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस