धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट हेडरेस सुरुङ निर्माण थालिएको छ । आयोजनाको विद्युत्गृह रहने मालिका गाउँपालिका–७, भारबाङस्थित आउटलेटतर्फबाट सुरुङ खन्न सुरु गरिएको हो ।
सुरुङ खन्ने कामको शुभारम्भ गर्दै मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले आयोजनाको निर्माणकार्यमा आवश्यक उपकरण र जनशक्ति परिचालन गरी निर्धारित समयभित्रै आयोजनाको काम सम्पन्न गर्न आग्रह गरे । योसँगै यो आयोजनामा चार ठाउँबाट सुरुङ खन्ने काम भइरहेको छ ।
यसअघि आयोजनाको बाँधस्थल धवलागिरि गाउँपालिका–४, खाम्ला र छहरीको अडिटबाट दुईतर्फ सुरुङ खन्ने काम भइरहेको छ । अडिटतर्फबाट निर्माण भइरहेको सुरुङ र आउटलेटबाट सुरु भएको सुरुङ एक किलोमिटर ८६५ मिटर लामो हुने आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए । उनका अनुसार, यस आयोजनामा बाँधबाट विद्युत्गृहसम्म पाँच किलोमिटर सात सय मिटर सुरुङ निर्माण हुनेछ ।
म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले धवलागिरि–४, खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउन १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण गरिरहेको छ । १९ चैत २०८० मा सम्झौता र २८ वैशाख २०८१ मा कार्यक्षेत्रमा परिचालित भएको सिभिल ठेकेदार लुना बिल्डर्स एन्ड कन्ट्याक्टरले निर्माणस्थलमा पर्याप्त मात्रामा जनशक्ति निर्माण सामग्री र उपकरणको बन्दोबस्त मिलाएको आयोजना प्रमुख केसीले जानकारी दिए । २०८३ फागुनभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित बाँधसँगै सुरुङ र विद्युत्गृह निर्माणको कामलाई तीव्रता दिएको आयोजनाले जनाएको छ ।
छहरीको १९८ दशमलव ९० मिटर लामो अडिट सुरुङ, बाँधतर्फबाट सुरु गरिएको ७६ दशमलव ५४ मिटर लामो सुरुङ र अडिटबाट थप एक किलोमिटर २७० दशमलव ६७ मिटर मुख्य सुरुङ निर्माण भइसकेको छ । आयोजनाको बाँधस्थलतर्फ २० प्रतिशत भौतिक प्रगति भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस