Like us!
Follow us!
Connect us!
Watch us!

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण हुँदै

अर्थ संसार

सोमबार, १६ असार २०८२, ११ : ०३ मा प्रकाशित

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण हुँदै

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण कार्य तिब्र रुपमा भइरहेको छ । परम्परागत जलाशययुक्त प्रणालीमा आधारित यस आयोजनाले नेपालको जलविद्युत् इतिहासमा पहिलो ‘कङ्क्रिट’युक्त बाँध निर्माण कार्य अघि बढाएको हो ।

आयोजनाका अनुसार मुख्य बाँध १४० मिटर अग्लो हुनेछ । हाल आयोजनास्थलमा बाँधको फाउन्डेसनमाथि औसत १० मिटर उचाइसम्म कङ्क्रिट ब्लकहरू उठाइसकिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दए । ‘बाँध निर्माणको क्रममा मास कङ्क्रिटिङमा तापमान नियन्त्रण अति संवेदनशील हुने भएकाले अत्याधुनिक प्रविधिमार्फत तापमान सन्तुलन गरेर काम गर्ने गरिएको छ,’ उनले भने । प्रमुख भण्डारीका अनुसार बाँधको संरचना अत्यन्तै जटिल र दीर्घकालीन सुरक्षासँग जोडिएको भएकाले तापमान नियन्त्रणमा विशेष ध्यान दिइएको हो । ‘अब बाँधको उचाइ क्रमशः बढाउँदै लगिएको छ, अबको दुई वर्षभित्र क्रङ्क्रिट राख्ने कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ,’ उनले भने । 

प्याकेज–१ अन्तरगत बाँध निर्माण र सेती नदी ‘डाइभर्सन’को काम पूरा गरी बाँधमा कङ्क्रिट राख्ने कार्य भइरहेको सो आयोजनाले जनाएको छ । प्याकेज–१ को ४२ दशमलव ५ प्रतिशत भौतिक प्रगति हासिल गरिएको छ । प्याकेज–१ को निर्माण सोङदा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि नेपाल, जेभीले गरिरहेको छ । यस प्याकेजअन्तर्गत रिभर डाइभर्सन, स्लोप कटिङ, साइड व्यवस्थापन र दुई ठूला डाइभर्सन टनेल खन्ने कार्य सकिएका कारण भौतिक प्रगति बढेको हो । 

तीनवटा प्याकेजमा निर्माण कार्य धमाधम भइरहेको छ । आयोजनाको समग्रमा ६७ प्रतिशत भौतिक प्रगति भइसकेको सो आयोजनाले जनाएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ ।

यसका लागि एडिबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार–नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोेर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । आयोजनाबाट विद्युत् उत्पादन सुरू भएको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत् उत्पादन ५८ करोड ७७ लाख र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने अनुमान गरिएको आयोजना प्रमुख भण्डारीले बताए ।

त्यसैगरी, प्याकेज–२ अन्तर्गत योजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका संरचना निर्माण गरिएको छ । यस योजनाको निर्माणको जिम्मा सिनो हाइड्रो कर्पोरेसन चीनले पाएको छ । त्यसैगरी, प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेसनल लिमिटेड, भारतले गरिरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको