Like us!
Follow us!
Connect us!
Watch us!

पोखराका दुई किसानले बेचे १५ लाख बढीका तरबुजा

अर्थ संसार

शनिबार, ३१ जेठ २०८२, २१ : १२ मा प्रकाशित

पोखराका दुई किसानले बेचे १५ लाख बढीका तरबुजा

पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनारास्थित तिखेढुङ्गामा दुई किसानले रु १५ लाखभन्दा बढीका तरबुजा बेचेर छिमेकीलाई पनि यो फलको खेतीमा लाग्न प्रेरित गरेका छन् । सुरौदीको तिखेढुङ्गामा अगुवा कृषकद्वय रमेश आचार्य र ज्ञानबहादुर कार्कीले ३५ रोपनीमा तरबुजाखेती गर्नुभएकामा ३० हजार किलोग्राम बिक्री गर्नुभएको छ । प्रतिकूल मौसमका कारण रु पाँच लाख बरबरको हानि भएको किसान आचार्यले जानकारी दिनुुभयो । निरन्तरको वर्षाका कारण तरबुजा बिग्रिएका हुन् ।

स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा आयोजित तरबुजा मेलामा सुरौदीमा फलेको सात किलो ८६० ग्राम तौलको तरबुजा सबैभन्दा ठूलो पहिचानसमेत गरिएको थियो । उक्त तरबुजा फलाए वापत महानगरपालिकाले उनीहरुलाई रु पाँच हजार नगदसहित पुरस्कृत गरेको थियो ।

सुरौदीसहित यसवर्ष पोखराका विभिन्न स्थानमा तरबुजाखेतीप्रतिको आकर्षण बढिरहेको पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुुभयो । परीक्षणका रूपमा गरिएको तरबुजाखेती यसवर्ष दुई सय रोपनी क्षेत्रफलमा विस्तार भएको छ । महानगरपालिकाले तरबुजाखेतीका लागि बीउ र मलचिङमा सहयोग गरेको उनले बताए ।

पोखरा महानगर क्षेत्रका वडाहरूमध्ये वडा नं १३, २३, ३०, ३२ र ३३ मा यस खेतीप्रति आकर्षण बढिरहेको छ । यसवर्ष पोखरामा करिब चार सय टन (रु दुई करोड बराबर) को तरबुजा उत्पादन भएको छ । महानगरपालिकाले स्थानीय सरस्वती जातको तरबुजाको ‘ब्रान्डिङ’ र बजारीकरणका लागि स्टीकर तयार गरी प्रदान गरेको शाखा प्रमुख कडरियाले जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको