ट्रेड टावर लिमिटेडले गत जेठ १४ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को सेयर आज असार १ गते बाँडफाँट हुँदैछ। बाँडफाँटको प्रक्रिया आइतबार बिहान साढे ९ बजे बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालय, कमलादी काठमाडौंमा सुरु हुनेछ।
आईपीओमा २१ लाख ६९ हजार ८९१ जना लगानीकर्ताले आवेदन दिएका छन्। ती आवेदकहरूले कूल २ करोड ५७ लाख ७९ हजार ७९० कित्ता सेयरका लागि आवेदन दिएका हुन्। तर, बाँडफाँट प्रणाली अनुसार १०–१० कित्ताका दरले ३ लाख २९ हजार ६५० जनाले मात्र सेयर पाउनेछन्। बाँकी १८ लाखभन्दा बढी आवेदकको हात भने खाली हुनेछ।
कम्पनीले आफ्नो ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँ बराबरको जारी पुँजीको ४८.६९६ प्रतिशत अर्थात् ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर आईपीओमार्फत निष्काशन गर्न अनुमति पाएको थियो।
पहिलो चरणमा कम्पनीले कुल सेयरमध्ये ३ लाख ९७ हजार १६९.३० कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि, १ लाख ९८ हजार ५८४.६५ कित्ता सामूहिक लगानी कोषका लागि, र ७९ हजार ४३३.८६ कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याएको थियो।
त्यसपछि बाँकी रहेका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका अनुसार सेयर बाँडफाँट सकिएपछि कम्पनीले सीडीएससीमार्फत नतिजा सार्वजनिक गर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस