Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ क्षेत्रले दियो संकटको संकेत : एक वर्षमै ७५ प्रतिशतले बढ्यो गैह्रबैंकिङ सम्पत्ति,घटेन खराब कर्जा

अर्थ संसार

आइतबार, ०१ असार २०८२, १० : ५९ मा प्रकाशित

बैंकिङ क्षेत्रले दियो संकटको संकेत : एक वर्षमै ७५ प्रतिशतले बढ्यो गैह्रबैंकिङ सम्पत्ति,घटेन खराब कर्जा

नेपालको बैंकिङ क्षेत्र अहिले विविध जोखिम र चुनौतीहरूको चपेटामा परेको देखिन्छ। सुरुवातदेखि नै घट्दो ब्याजदर, लगानीयोग्य रकमको थुप्रो, र कर्जाको कमजोर वृद्धि दर जस्ता समस्याहरू कायम थिए। यस्ता चुनौतीहरूकै बीचमा अहिले खराब कर्जा ( NPL) र गैह्रबैंकिङ सम्पत्तिको उल्लेखनीय वृद्धि देखिएपछि बैंकिङ प्रणालीमाथि थप दबाब परेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को ‘Financial Stability Report’ मा केही आर्थिक सूचकहरूमा सुधार देखिए तापनि, वित्तीय प्रणालीको स्थायित्वमा प्रश्न उठाउने खालका संकेतहरू प्रस्ट रूपमा देखिएको उल्लेख छ। रिपोर्टमा पुँजी पर्याप्तता अनुपातमा निरन्तर गिरावट, बढ्दो निष्क्रिय कर्जा, र धितो लिलामीबाट प्राप्त अचल सम्पत्तिको थुप्रो प्रमुख चुनौतीका रूपमा औंल्याइएको छ।

रिपोर्टमा भनिएको छ, 'यद्यपि, चुनौती नै नभएको भने होइन। आर्थिक वर्ष २०२३/२४ को तथ्यांकले केही सकारात्मक प्रवृत्ति देखाएको छ।' अघिल्लो वर्षको तुलनामा न्यून मुद्रास्फीति, बलियो चालु खाता, र कुल गार्हस्थ उत्पादन (GDP) वृद्धिमा सुधार देखिए पनि, बैंकिङ प्रणालीभित्र कर्जा प्रवाह कमजोर हुनु, ब्याजदर निरन्तर घट्नु, र गुणस्तरहीन सम्पत्तिको बढ्दो बोझले समग्र प्रणालीमा दबाब बढाएको उल्लेख छ।

तर व्यवहारिक रूपमा हेर्दा गैह्रबैंकिङ सम्पत्ति दिनप्रतिदिन बढ्दै गएको छ। बैंकहरूले ऋणीबाट असुल गर्न नसकेपछि धितो अचल सम्पत्ति सकारेर लिलामीमा राख्ने गर्दछन्। तर बजारमा माग नहुँदा ती सम्पत्ति बिक्री हुन सकेका छैनन्। यही कारण गैह्रबैंकिङ सम्पत्ति बढ्दो क्रममा रहेको छ, जुन बैंकहरूको बैलेंस सीटमा बोझको रूपमा देखिन थालेको छ।

नेपाल राष्ट्र बैंकका पछिल्लो तथ्यांक अनुसार, हाल बैंकिङ प्रणालीमा गैह्रबैंकिङ सम्पत्ति ४२ अर्ब ५ करोड रुपैयाँभन्दा बढी पुगेको छ। अघिल्लो वर्षको तुलनामा यो ७५ प्रतिशतले वृद्धि भएको हो। एक वर्षको अवधिमा मात्रै गैह्रबैंकिङ सम्पत्ति १८ अर्ब ९ करोड रुपैयाँले बढेको छ।

कुनको कति ?

यसै अवधिमा वाणिज्य बैंकहरूको मात्रै गैह्रबैंकिङ सम्पत्ति ८०.०५ प्रतिशतले वृद्धि भएर ३६ अर्ब २० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा यो २० अर्ब ११ करोड रुपैयाँ थियो। विकास बैंकहरूको गैह्रबैंकिङ सम्पत्ति ३७.५६ प्रतिशतले बढेको छ भने फाइनान्स कम्पनीहरूको ७९.२० प्रतिशतले वृद्धि भएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, सबैभन्दा धेरै गैह्रबैंकिङ सम्पत्ति हुने बैंक ग्लोबल आईएमई बैंक हो, जसको गैह्रबैंकिङ सम्पत्ति ५ अर्ब ८८ करोड ३५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष फागुनमा यो सम्पत्ति २ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ थियो। दोस्रो स्थानमा रहेको हिमालयन बैंकको गैह्रबैंकिङ सम्पत्ति ४ अर्ब ५३ करोड ४८ लाख रुपैयाँ पुगेको छ। यता नेपाल बैंक भने २० लाख रुपैयाँभन्दा थोरै बढी गैह्रबैंकिङ सम्पत्तिसहित सबैभन्दा न्यून अवस्थामा देखिएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको