नेपाली लगानीकर्तालाई लक्षित गर्दै शेयर बजारसम्बन्धी वित्तीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित ‘इन्भेष्टमेन्ट गुरु’ नामक नयाँ संस्था शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
काठमाडौँमा आयोजित विशेष कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दिप प्रज्वलन गर्दै कार्यक्रमको सुरुआत गरेका थिए भने चार्टर्ड एकाउन्टेन्ट तथा वित्तीय विश्लेषक अनुपमा संग्रौलाले रिबन काटेर संस्थाको औपचारिक उद्घाटन गरेकी हुन्।
उद्घाटन समारोहमा बोल्दै संग्रौलाले ‘इन्भेष्टमेन्ट गुरु’ले शिक्षित, सचेत र जिम्मेवार लगानीकर्ता तयार पार्न उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरिन्। उनका अनुसार, वर्तमान समयमा शेयर बजारप्रतिको आकर्षण बढ्दै गएको छ, तर शिक्षाको अभावमा धेरै लगानीकर्ता अनावश्यक जोखिममा फस्ने गरेका छन्।
संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमित झाका अनुसार ‘इन्भेष्टमेन्ट गुरु’ ले नयाँ लगानीकर्ता तथा शेयर बजारमा चासो राख्ने नागरिकहरूलाई लक्षित गरी वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सञ्चालन गर्नेछ।
संस्थाले अनलाइन र भौतिक दुवै माध्यममार्फत कक्षा सञ्चालन गर्ने योजना ल्याएको छ। कार्यालयमै सुविधा सम्पन्न कक्षा कोठा निर्माण गरिएको छ जहाँ एकसाथ प्रत्यक्ष उपस्थित र भर्चुअल माध्यमबाट प्रशिक्षण प्रदान गर्न सकिने सुविधा उपलब्ध छ।
‘इन्भेष्टमेन्ट गुरु’ले शेयर बजारका आधारभूत सिद्धान्त, लगानीका रणनीति, जोखिम व्यवस्थापन, बजार विश्लेषण, प्रतिफल मूल्याङ्कन लगायतका विषयमा कक्षा, सेमिनार र परामर्श सेवा प्रदान गर्नेछ।
संस्थापक अमित झा स्वयं विगत पाँच वर्षदेखि शेयर शिक्षा र परामर्श सेवामा सक्रिय रहेका छन्। उनले जानकारी दिएअनुसार संस्थाले प्रारम्भिकदेखि लिएर उन्नत तहसम्मको पाठ्यक्रम निर्माण गरी लगानीकर्तालाई प्रशिक्षण दिनेछ।
निकट भविष्यमा ‘इन्भेष्टमेन्ट गुरु’ ले आफ्नो सेवा देशभर विस्तार गर्ने योजना पनि अघि सारेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस