तनहुँको भिमाद नगरपालिका–९ को भानुमति जौपानीको १०० रोपनी क्षेत्रफलमा सामूहिक अबकरे खुर्सानीखेती सुरु गरिएको छ । मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषक समूहमार्फत अकबरे खुर्सानीखेती गरिएको भानुमति कृषक समूहका अध्यक्ष इमान थापाले जानकारी दिए।
कृषि उत्पादन बढाई वडा नं ८ का स्थानीय बासिन्दालाई आत्मनिर्भर बनाउन खुर्सानीखेती सुरु गरेको उनको भनाइ छ । उक्त जग्गामा एक लाख अकबरे खुर्सानीको बिरुवा रोपिएको छ । खुर्सानीखेतीबाट किसानले वार्षिक दुई लाख ५० हजार केजी खुर्सानी उत्पादन तथा वार्षिक रु छ करोड २५ लाख आम्दानीको लक्ष्य लिइएको छ ।
यहाँ उत्पादन भएको खुर्सानी पोखरा, भिमाद, खैरेनीटारका बजारमा बिक्री गर्ने योजना छ । हाल बजारमा प्रतिकेजी रु ३०० देखि रु ५०० थोक मूल्य रहेको छ । खुर्सानीको बिरुवा उत्पादनका लागि वडा नं ९ ले रु एक लाख अनुदान दिएको थियो । उक्त वडाका आठ वटा टोल मोहरीया, पाइमी, कटनछाप, पाथर्दी, थामडाँडा, सखेप, जौपानी र आस्पाग्दी भाडडाँडामा अकबरे खुर्सानी उत्पादनका लागि पकेट क्षेत्र बनाइने भएको छ । सो वडामा समुदायको आर्थिक वृद्धिका लागि अकबरे खुर्सानी सँगसँगै कफीखेतीका लागि पनि सम्भाव्यता अध्ययन भइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस