विश्वप्रसिद्ध लगानीकर्ता वारेन बफेटले फेरि एकपटक आफ्नो विशाल सम्पत्ति समाज सेवामा खर्च गर्ने परम्परा दोहोर्याएका छन्। उनले हालै ६ अर्ब अमेरिकी डलर बराबरको Berkshire Hathaway कम्पनीको सेयर विभिन्न सामाजिक र पारिवारिक संस्थाहरूलाई दान गरेका छन्। यो उनका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो वार्षिक दान हो, जुन उनले झन्डै दुई दशकअघि आफ्नो सम्पत्ति दान गर्न सुरु गरेपछि पहिलोपटक भएको हो।
बफेटले १२.३६ मिलियन Berkshire Hathaway Class B सेयर दान गरेका हुन्। तीमध्ये सबैभन्दा ठूलो हिस्सा गेट्स फाउण्डेशनलाई प्रदान गरिएको छ। सुसन थोम्पसन बफेट फाउण्डेशन, र उनका छोराछोरीद्वारा सञ्चालित तीन पारिवारिक संस्था — हावार्ड जी. बफेट फाउण्डेशन, शेरवुड फाउण्डेशन र नोभो फाउण्डेशनलाई पनि उल्लेखनीय संख्यामा सेयर प्रदान गरिएको छ। यससँगै बफेटको हालसम्मको कुल दान ६० अर्ब डलरभन्दा माथि पुगेको छ।
दानपछि पनि बफेटसँग अझै Berkshire Hathaway कम्पनीको १३.८ प्रतिशत सेयर स्वामित्व बाँकी रहेको छ। दान गर्नु अगाडिसम्म उनको सम्पत्ति १५२ अर्ब डलर थियो, जसअनुसार उनी फोर्ब्स पत्रिकाका अनुसार विश्वका पाँचौं धनी व्यक्ति थिए। अहिले उनले गरेको दानपछि उनको स्थान छैठौंमा झर्ने अनुमान गरिएको छ।
९४ वर्षीय बफेटले आफ्नो जीवनकालभर कुनै पनि सेयर बिक्री नगर्ने अडान पुनः दोहोर्याएका छन्। उनले सन् २००६ बाट आफ्नो सम्पत्ति सामाजिक हितका लागि दिन सुरु गरेका थिए। पछिल्लो समय उनले आफ्नो वसीयत परिमार्जन गर्दै बाँकी ९९.५ प्रतिशत सम्पत्ति मृत्यु पश्चात् आफ्नै छोराछोरीको निगरानीमा रहने च्यारिटेबल ट्रस्टमार्फत वितरण गरिने व्यवस्था मिलाएका छन्।
उक्त ट्रस्टमा रहने सम्पत्ति १० वर्षभित्र वितरण गर्नुपर्नेछ र तीनै छोराछोरी – सुसी बफेट (७१), हावार्ड बफेट (७०), र पीटर बफेट (६७) को सहमति बिना कोही पनि रकम खर्च गर्न सक्ने छैन।
बफेटले नेतृत्व गर्दै आएको Berkshire Hathaway कम्पनीको हालको मूल्य १.०५ ट्रिलियन डलर पुगेको छ। यो कम्पनीले Geico कार बीमा, BNSF रेल सेवा, Apple, American Express लगायत सयौं ठूला कम्पनीहरूमा लगानी गरिरहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस