Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक वर्ष सकिनै लाग्दा पुँजीगत खर्च १ खर्ब ८६ अर्ब, राजस्व संकलन १० खर्बमै सिमित

अर्थ संसार

विहीबार, २६ असार २०८२, १३ : २५ मा प्रकाशित

आर्थिक वर्ष सकिनै लाग्दा पुँजीगत खर्च १ खर्ब ८६ अर्ब, राजस्व संकलन १० खर्बमै सिमित

चालु आर्थिक वर्ष सकिन एक साता मात्रै बाँकी रहेको छ । आर्थिक वर्ष सकिनै लाग्दा पनि सरकारको पुँजीगत खर्च भने निकै न्युन रहेको छ । महालेखा नियन्त्रकको तथ्यांक अनुसार सरकारले पुँजीगत खर्चको ५२.९६ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । यो असार २५ गतेसम्मको तथ्यांक हो । 

यो वर्ष पनि अघिल्ला वर्षहरु जस्तै सरकारको पुँजीगत खर्च भने निकै कम हुने देखिन्छ । सरकारले चालु आवमा राजश्व संकलन, पुँजीगत खर्च बढ्ने दाबी गरेपनि तथ्यांकमा भने अवस्था सन्तोषजनक देखिदैन । सरकारले हालसम्म १ खर्ब ८६ अर्ब ६१ करोड ३५ लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ । चालु आवमा सरकारले पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको थियो । 
सरकारले चालु आवमा कुल १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य लिएकोमा हालसम्म १४ खर्ब ६६ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ खर्च गरेको छ । जुन कुल विनियोजनको ७८.८४ प्रतिशत हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार असार २५ गतेसम्ममा चालुतर्फ ९ खर्ब ६४ अर्ब १ करोड रुपैयाँ खर्च भएको छ । यो कुल चालु खर्चका लागि विनियोजन गरेको रकमको ८४.५१ प्रतिशत हो । चालु आवमा सरकारले ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ चालु खर्चमा बजेट विनियोजन गरेको थियो । त्यस्तै, वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ बराबरको खर्च गर्ने लक्ष्य रहेकोमा हालसम्म ३ खर्ब १५ अर्ब ९६ करोड ११ लाख रुपैयाँ अर्थात् ८६.०३ प्रतिशत खर्च भएको छ । 

सरकारको आम्दानीतर्फ आजसम्ममा १० खर्ब ८६ अर्ब ९१ करोड २२ लाख रुपैयाँ बराबर राजस्व संकलन गरेको छ । यो कुल लक्ष्यको ७५.५८ प्रतिशत हो । सरकारले चालु आवको लागि १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । यहि अवस्थामा सरकारले पुँजीगत खर्च र राजस्व संकलनको लक्ष्य नभेटाउने निश्चित देखिन्छ । त्यसमा कर राजस्वतर्फ ९ खर्ब ८४ अर्ब २० करोड ५८ लाख रुपैयाँ संकलन भएको छ । यो कुल लक्ष्यको ७६.६४ प्रतिशत हो । चालु आवका कर राजस्वतर्फ १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख रुपैयाँ लक्ष्य राखेको थियो ।

गैर कर राजश्वतर्फ १ खर्ब २ अर्ब ७० करोड ६४ लाख रुपैयाँ संकलन भएको छ । यो कुल लक्ष्यको ७६.०३ प्रतिशत हो । चालु आवको लागि गैर कर राजश्वतर्फ सरकारले १ खर्ब ३५ अर्ब ९ करोड ३४ लाख रुपैयाँ लक्ष्य राखेको थियो । आर्थिक वर्ष सकिनै लाग्दा सरकारले अनुदानतर्फ ५२ अर्ब ३२ करोड ६५ लाख प्राप्त गर्ने लक्ष्य राखेकामा हालसम्म २१ अर्ब ४ करोड ६१ लाख रुपैयाँ संकलन भएको छ । यो लक्ष्यको ४०.२२ प्रतिशत हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको