Like us!
Follow us!
Connect us!
Watch us!

दीपेन्द्र अग्रवालको पक्राउ प्रकरण: सिप्रबी सेक्युरिटिज र अरु पनि जोडिए

अर्थ संसार

मंगलबार, ०६ साउन २०८२, ०८ : ४१ मा प्रकाशित

दीपेन्द्र अग्रवालको पक्राउ प्रकरण: सिप्रबी सेक्युरिटिज र अरु पनि जोडिए

चर्चित सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई काठमाडौं जिल्ला अदालतले तीन दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। उनलाई २२ करोड रुपैयाँ ठगीको आरोपमा सोमबार टोखाबाट पक्राउ गरिएको हो।

तर, अग्रवालका निकट व्यक्तिको दाबीमा, प्रहरी तथा सञ्चारमाध्यमहरूमा सार्वजनिक भएको पक्राउको कारण वास्तविक होइन। सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिंदै प्रवेश खनालले अग्रवालमाथि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट कुनै कारबाही नभएको स्पष्ट पारेका छन्। उनका अनुसार, सेबोनले जिल्ला प्रहरी परिसरलाई कुनै पत्र लेखेको छैन, न त अग्रवाललाई कारबाही नै गरेको छ।

खनालले दाबी गरेका छन् कि अग्रवालको पक्राउको मुख्य कारण ब्रोकर नम्बर २२ (सिप्रबी सेक्युरिटिज)सँग जोडिएको आर्थिक लेनदेन हो। उनका अनुसार, सिप्रबीमा नगद अभाव भएपछि अग्रवालले ३३ करोड ७३ लाख रुपैयाँ सिप्रबी सेक्युरिटिजको खातामा विभिन्न खाताबाट सहयोग स्वरूप पठाएका थिए।

उक्त रकम सिप्रबीमार्फत नितिन कुमार शाह र दिनेश कुमार शाहको सेयर कारोबारमा प्रयोग भएको खनालको दाबी छ। “यो रकम उनीहरूकै खातामा मिलान  गरिएको थियो, तर अग्रवालसँग कुनै पूर्व सहमति बिना यस्तो गरिएको हो,” खनालले बताएका छन्।

खनालका अनुसार, सिप्रबीले पछि २३ करोड ९९ लाख रुपैयाँ नितिन र दिनेश शाहलाई फिर्ता पठाएको छ। तर ९ करोड ७३ लाख रुपैयाँ भने फिर्ता नपाएको भन्दै अग्रवाल समूहले प्रहरीमा उजुरी दिएका थिए। प्रहरीमा उजुरी दिएपछि सिप्रबी सेक्युरिटिजका प्रबन्धक र सञ्चालकहरूमाथि पक्राउ पुर्जी जारी भएको थियो।

खनालले आरोप लगाएका छन् कि दिनेश शाहले पछि अग्रवालविरुद्ध नै उजुरी दिँदै पहिले दिएका २२ करोड फिर्ता माग गरेका छन्। यही उजुरीका आधारमा अग्रवाललाई अहिले पक्राउ गरिएको हो।

खनालको दाबीअनुसार, यो सबै प्रकरण एक योजनाबद्ध ‘फसाउने षड्यन्त्र’ हो र दीपेन्द्र अग्रवाललाई गलत तरिकाले लक्षित गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको