नेपालमा सवारी साधन आयातमा नयाँ कडाइ लागू गरिएको छ। नेपाल सरकारद्वारा जारी गरिएको सवारी साधन प्रदूषण मापदण्ड, २०८२ लाई कार्यान्वयनमा ल्याउँदै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ निर्देश जारी गरेको हो।
राष्ट्र बैंकले एकीकृत परिपत्र जारी गर्दै मापदण्डअनुसार नआउने सवारी तथा ढुवानीका साधनहरूको आयातका लागि अबदेखि प्रतितपत्र (एलसी) खोल्न नपाइने स्पष्ट पारेको छ।
संशोधित निर्देशिकाअनुसार अब नयाँ सवारी वा ढुवानीका साधनहरू केवल निर्माता कम्पनी वा तिनका आधिकारिक विक्रेताबाट खरिद गर्नुपर्नेछ। साथै, ती साधन नेपालस्थित आधिकारिक वितरकमार्फत मात्र आयात गर्न पाइनेछ। यससँगै, रिकन्डीसन, प्रयोग भइसकेका गाडीहरू, वा प्रदूषण मापदण्ड २०८२ मा समेटिन नसक्ने अन्य कुनै पनि सवारीसाधन आयात गर्न रोक लगाइएको छ।
यद्यपि, परिपत्रमा केही विशेष अवस्थाहरूमा छुटको व्यवस्था गरिएको छ। सरकारी निकाय, कूटनीतिक सुविधा प्राप्त व्यक्ति वा संस्था, र ऋण वा अनुदान सहयोगमा सञ्चालित सरकारी परियोजनाले ल्याउने सवारी साधनमा यो कडाइ लागू हुने छैन। त्यस्तै, वारुणयन्त्र (दमकल), स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्डअनुसारको एम्बुलेन्स, शीर्षक ८७.०१ अन्तर्गत पर्ने ट्याक्टर, शीर्षक ८७.०५ मा पर्ने खास प्रयोजनका मोटरगाडी, तथा नेपालले आयोजना गर्ने अन्तर्राष्ट्रिय वा क्षेत्रीय सभा–सम्मेलनका प्रयोजनका लागि मन्त्रिपरिषद्को निर्णयमा ल्याइने सवारीमा पनि प्रतिबन्ध लागू नहुने उल्लेख गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस